गोरखामा २२ सय ८३ निर्वाचन प्रहरी छनोट गरेर पाँच ठाउँबाट तालिम संचालन गरिएको थियो ।
गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दिइएको १० दिने तालिम सकिएको छ ।
गोरखामा २२ सय ८३ निर्वाचन प्रहरी छनोट गरेर पाँच ठाउँमा तालिम संचालन गरिएको थियो । गोरखा हरमटारी खेलमैदान, गोरखा क्याम्पस, मझुवा, इलाका प्रहरी कार्यलय ठाँटीपोखरी, जौवारी र आरुघाटबाट निर्वाचन प्रहरीका लागि तालिम दिइएको हो ।
माघ १८ गतेबाट संचालन भएको तालिम मंगलबार सकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । तालिममा निर्वाचन सुरक्षाका विषय, प्रहरीले गर्नुपर्ने काम, सेवासुविधालगायतका विषयमा सहजीकरण गरिएको थियो । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिका रहने उनले बताए ।
गोरखामा नेपाल प्रहरी तर्फ २२ सय ४ सशस्त्र प्रहरी तर्फ छनोट भएका ७९ जनालाई तालिम संचालन भएको थियो । तालिम लिएकालाई केहीदिनमै पोशाक वितरण गरेर निर्वाचन सुरक्षामा खटाउने तयारी गरिएको छ ।
