गोरखामा शुक्रबारदेखि एचपीभी खोप अभियान

माघ २७ देखि फागुन १ गतेसम्म जिल्लाभर संचालन हुने अभियानमा १ हजार ८ सय ८५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको छ।

माघ २६, २०८२

हरिराम उप्रेती

HPV vaccination campaign begins in Gorkha from Friday

गोरखा — गोरखामा माघ २७ गतेबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ ।

कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षसम्मका किशोरीलाई लक्षित गरेर  एचपीभी खोप अभियान संचालन गर्न लागिएको हो ।

माघ २७ देखि फागुन १ गतेसम्म जिल्लाभर एकै साथ संचालन हुने अभियानमा १ हजार ८ सय ८५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबावु दानीले बताए । 

कक्षा ६ मा अध्ययन गर्ने १ हजार ८ सय ७४ र विद्यालय बाहिर रहेका ११ जना किशोरीलाई उक्त खोप दिइने उनले बताए । खोप अभियानका लागि १ सय ७३ विद्यालय तथा ४ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र निर्धारण गरिएको छ । 

गत वर्ष संचालित एचपीभी खोपका लागि निर्धारित लक्षित समूहका किशोरीमध्ये खोप लगाउन छुटेका ७ देखि १० मा अध्ययनरत छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उनले बताए । 

आफ्नो गाउँटोल, कार्यक्षेत्रमा विद्यालय नजाने १० वर्षसम्मका किशोरीको नामावली संकलन गर्न र ती किशोरीको संख्या अनुगमन गर्न स्थानीय स्वास्थ्य संस्थालाई सहयोग गर्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिम्रन काफ्लेले आग्रह गरिन् । एक मात्रा एचपीभी खोप लगाएका किशोरीले अर्को लगाउन जरुरी नहुने उनले बताइन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully