हिमपातले बन्द माथिल्लो मनाङको बाटो ४ दिनपछि खुल्यो

अधिक हिमपातका कारण माथिल्लो मनाङको ढिकुरपोखरीदेखि माथिल्लो मनाङ क्षेत्रमा आवतजावतमा समस्या भएको थियो ।

माघ २४, २०८२

आश गुरुङ

Upper Manang road closed due to snowfall reopens after 4 days

लमजुङ — हिमाली जिल्ला मनाङको माथिल्लो मनाङ क्षेत्रमा हिमपातको ४ दिनपछि सडक खुलेको छ ।

एक सातापछि पुनः गत मंगलबार परेको अधिक हिमपातका कारण माथिल्लो मनाङको ढिकुरपोखरीदेखि माथिल्लो मनाङ क्षेत्रमा आवतजावतमा समस्या भएको थियो ।

मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङका अनुसार जलविद्युत आयोजनाको एक्स्काभेटर प्रयोग गरी ढिकुरपोखरी फेद स्वर्गद्वारीदेखि माथिल्लो क्षेत्रको हिउँ हटाइएको छ । उनले हिउँले ढाकिएको मनाङ घुम्न आउनेका लागि बाटो पूर्ण रुपमा सञ्चालनमा आएको समेत बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार प्रशासन, प्रहरी, गाउँपालिका, जलविद्युत् आयोजना लगायतको सर्वपक्षीय सहयोग र समन्वयमा सडक खुलाइएको बताए । ‘अहिले सडकमा हिँड्नेहरु निकै कम छन् । मनाङमा मेसिनरी सामानको अभाव छ, सामान पाइए पनि अपरेटरको अभाव छ । हामीले जलविद्युत् आयोजनासँगको सहयोगमा सडक खुलाएका छौं,’ उनले भने ।

उनका अनुसार सडक खुलेसँगै स्थानीय र माथिल्लो मनाङ साथै थोराङ्ला पास जाने पर्यटकलाई सजिलो भएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully