मध्यपहाडी लोकमार्ग बागलुङभित्र १ सय ४२ किमी दुरी छ । त्योमध्ये २५ किमी कालोपत्र नभएको, झण्डै ४० किमीमा कालोपत्रपछि पनि जीर्ण र खाल्डैखाल्डा छन् ।
What you should know
बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कतै काम पूरा भएको छैन । कतै बनेको बाटो भत्केर जीर्ण भइसक्यो । केही स्थानमा भने खाल्डाखुल्डीले सडक कुरुप बनेको छ ।
बागलुङको काठेखोला गाउँपालिका–५ को घोडाबाँधेदेखि गलकोट नगरपालिका तर्फको सडकमा अस्वभाविक कालोपत्रका टालैटाला देखिन्छन् । पहिरो खसेको स्थानमा भने सडक जस्ताको त्यस्तै छ । पहिरोहरु हटाउने विषयमा अहिलेसम्म लोकमार्ग आयोजना कार्यालयले वास्ता गरेको छैन ।
बिहुँ खण्डमा वर्षौदेखि सडक अलपत्र छ । सडक कहिले बनिसक्छ भन्ने यकिन छैन । २०७२ देखि काम गरिरहेको ठेकेदार पक्षले हरेक वर्ष हिउँदमा केही काम गरेपछि अलपत्र छाड्ने प्रवृत्ति हाबी भएको छ । केही बनेको सडक पनि वर्षातमा बगेर पुरानै अवस्थामा पुग्ने गरेको स्थानीयको गुनासो छ । गलकोट तर्फको सडक भने ६ वर्षअघि नै कालोपत्र भएकोमा पटक पटक मर्मत गरिए पनि दिगो बन्न नसकेको हो ।
चौराहा, झााक्रीस्थान आसपास दुई वटा घुम्तीमा सडक भत्केर गाडी समेत गुड्न जोखिम भएको छ । गलकोट नगरपालिका–९ र ११ को सिमानामा पर्ने भालुमारेमा पनि सडक भत्केको दुई वर्षसम्म मर्मत भएको छैन । हटियादेखि खरवाङसम्मको सडक खण्डमा त खाल्डैखाल्डा परेका छन् ।
साना सवारीसाधन गड्दा खाल्डाले हैरान हुने गरेको गलकोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले बताए । ‘हाम्रो नगरभित्रको सडक जीर्ण छ, नगरको बजेट राख्न नमिल्ने, लोकमार्गले वर्षौदेखि जीर्ण छाडेको छ,’ उनले भने, ‘सार्वजनिक सुनुवाइदेखि वडामा आउने सेवाग्राहीले यो सडकको बेहालबारे पटक पटक प्रश्न गर्छन्, तर हामीले केही बताउन सकेका छैनौं ।’ नगरपालिकाको लगानी गर्दा बेरुजु आउने र लोकमार्गले भने चासो नराखेको उनले बताए ।
पछिल्लो समय यो सडक खण्डमा पश्चिम बागलुङबासी मात्र नभइ रुकुम, रोल्पा, जाजरकोट, डोल्पा र दैलेखसम्मका यात्रु वारपार गर्छन् । दैनिक सयौं गाडी गुड्न थालेपछि सडक भत्कने र जीर्ण बन्दै गएको हो । तत्कालीन अवस्थामा बुर्तिवाङसम्मकालागि खुलेको सडकलाई नै मध्यपहाडी लोकमार्गमा सूचीकृत गरेपछि राज्यको लगानी बढाइएको छ ।
तर ठेकेदारहरुको लापरबाहीले कतिपय काम अझै नसकिएको हो भने कतिपय स्थानमा लोकमार्गले सडक डिजिजनलाई हस्तान्तरण गरिसकेको छ । तर सडकको मापदण्ड अनुसार सडक बनाउने काम भएको छैन । साथै यहाँका खाल्डा पुर्ने काम पनि नभएपछि यात्रा कठिन बन्दै गएको हो ।
लोकमार्गकै बुर्तिवाङदेखि निसी हुँदै रुकुम तर्फको अधिकांश सडक खण्ड सहज भए पनि निसीखोला गाउँपालिकामा सडकमै जोडेर घर बनाउने क्रम बढेको छ । जसले गर्दा सडक साँघुरो भएको छ । दैनिकजसो सडक दुर्घटना समेत हुने गरेको छ । तत्काल सडकको मापदण्डलाई कायम गर्न नसकेमा सडक अत्याधिक साँघुरो हुने निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर विकले बताए ।
सदरमुकामदेखि बिहुँ खण्डको सडक भने ठेकेदार पक्षको लापरबाहीले ढिला भइरहेको छ । स्थानीयले सडक ठप्प पारेर काम गराउन पहल गरेपछि केही गति लिएको छ । तर यो सडक समयमा काम सकिन्छ भन्नेमा स्थानीय अझै विश्वस्त बन्न नसकेको बताउँछन् । यो खण्ड बन्दै नबनेको कारणले जति स्थानीय आक्रोशित छन्, पटक पटक बनेर पनि जीर्ण भएको गलकोट खण्डमा पनि स्थानीय आक्रोशित बनेका हुन् । उनीहरुले पनि पटक पटक राज्यको ध्यानाकर्षण गरेका छन् ।
२०६८ सालदेखि थालिएको आयोजनाको काममा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नु परेकाे छ। सडक स्तरीय बनाउँदा स्थानीयलाई पनि समस्या भइरहेको छ। स्थानीय अमर मावि, भीमसेन मावि, खोलातिर आधारभूत विद्यालय, हिमालय आधारभूत विद्यालय, लालीगुराास बोर्डिङसहित काठेखोला ५ र ६ का स्वास्थ्य चौकी समेत सडकको समस्याबाट आजित छन् ।
मध्यपहाडी लोकमार्ग बागलुङभित्र १ सय ४२ किमी दुरी छ । त्योमध्ये २५ किमी कालोपत्र नभएको, झण्डै ४० किमीमा कालोपत्रपछि पनि जीर्ण र खाल्डैखाल्डा छन् । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका ईन्जिनियर ऋषि गौतमले सडकका खाल्डा पुर्ने काम भएको, ठेकेदारलाई ल्याएर काममा लगाइएको बताए ।
