मर्स्याङ्दीका ५२६ जेष्ठ नागरिकलाई डसना वितरण

जेष्ठ नागरिक सम्मान कार्यत्रमअन्तर्गत गाउँपालिकाले यस वर्ष ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

माघ २४, २०८२

आश गुरुङ

Distribution of Dasna to 526 senior citizens of Marsyangdi

What you should know

लमजुङ — मर्स्याङ्दी गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत डसना वितरण गरिएकाे छ ।

मर्स्याङ्दी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी घलेका अनुसार वडा १ देखि ९ सम्मका ८० वर्ष उमेर पूरा गरेका कुल ५ सय २६ जना जेष्ठ नागरिकलाई न्यानो डसना वितरण गरिएको हो । वडा २ का ४१, वडा ३ का १ सय ९, वडा ४ का ४८, वडा ५ का ५१, वडा ६ का ८४, वडा ७ का ३७, वडा ८ का ४५ र वडा ९ का ८८ जना जेष्ठ नागरिकले न्यानो डसना फाएको घलेले बताइन् ।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको जेष्ठ नागरिक सम्मान कार्यत्रमअन्तर्गत गाउँपालिकाले यस वर्ष ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सम्बन्धित वडाबाट सिफारिस भई आएका जेष्ठ नागरिकलाई वडाका जनप्रतिनिधिहरुको रोहबरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारीहरुले डसना वितरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जेष्ठ नागरिकप्रति सम्मान, संरक्षण र सामाजिक सद्भाव व्यक्त गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । ‘जेष्ठ नागरिक हाम्रो समाजका अनुभव र ज्ञानका धरोहर हुन्,’ उनले भने, ‘उहाँहरुको स्वास्थ्य, सुरक्षा र सम्मानका लागि गाउँपालिकाले सम्भव भएसम्मका कार्यक्रम निरन्तर अगाडि बढाउनेछ ।’ गाउँपालिकाले गएका वर्षहरुमा जेष्ठ नागरिकलाई न्यानो सिरक, टर्चलाइटलगायत प्रदान गरिसकेको छ ।

यस्तै गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । आगामी दिनमा जेष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा र जीवनस्तर सुधारसँग जोडिएका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully