दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा २ लाख ६८ हजार ५ सय २६ मतदाता रहेका छन् ।
परासी — पूर्वी नवलपरासीमा रहेका संवेदनशील र अति संवेदनशील मतदानस्थलमा जिल्ला सुरक्षा समितिका सदस्यले स्थलगत निरीक्षण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखले स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा निर्वाचनको समयमा आउन सक्ने सम्भावित चुनौती, मतपेटिका, मतपत्र ढुवानीका लागि भौगोलिक अवस्थिति र सुरक्षा व्यवस्थाको बारेमा स्थानीयसँग छलफल गरेका थिए ।
मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको विगत क्षेत्र मानिने मैनाघाट , मथारलगायतका क्षेत्रमा रहेका संवेदनशील र अति संवेदनशील मतदान स्थलको निरीक्षण तथा चुनावमा ढुक्क भएर सहभागी हुन स्थानीयसँग छलफल र निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
जिल्लामा १ सय १४ वटा मतदानस्थल मध्ये ११ अति संवेदनशील र ५० संवेदनशीलमा राखिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा २ लाख ६८ हजार ५ सय २६ मतदाता रहेका छन् ।
