सहरी क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाइँ सरेर आउनेहरु खोप अभियानबाट छुटेको थाहा पाएपछि नगर स्वास्थ्य शाखाले अभियान बनाएर खोजी थालेको हो ।
What you should know
बागलुङ — बागलुङ नगरपालिकाले नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको क्यान्सरबिरुद्धको खोप लगाउनुपर्ने बालिकाको खोजी अभियान थालेको छ ।
विशेषगरी सहरी क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाइँ सरेर आउनेहरु खोप अभियानबाट छुटेको थाहा पाएपछि नगर स्वास्थ्य शाखाले अभियान बनाएर खोजी थालेको हो ।
शुक्रबार नगर स्वास्थ्य शाखाले नगरभरिका स्वास्थ्यकर्मीलाई बजार क्षेत्रमा परिचालन गरेको छ । उनीहरुले टोलटोल र घरघरमा गएर खोप लगाउन छुटेकाको खोजी गरी खोपको दायरामा ल्याउने नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खानालले बताए ।
यो अभियानकालागि शाखाले ३५ जना स्वास्थ्यकर्मी एकैपटक खटाएको हो । विशेषगरी नगरपालिकाको वडा २, ३ र ४ मा यो समस्या बढी देखिएकोले सोही स्थानमा खटाइएको खनालले जानकारी दिए ।
यो टोलीले कम्तीमा ६ सय घरधुरीमा खोजी गर्नेछन् । गत वर्ष नै सुरु भएको पाठेघरको क्यान्सरबिरुद्धको एचपीभी खोप अभियानमा समेत विद्यालय नगएका वा बसाइँ सरेका र मजदुर बालिका छुटेको अनुमान छ । गत वर्ष १० वर्षदेखि १४ वर्षभित्रका २ हजार १ सय जनालाई एचपीभी खोप दिइएको थियो । त्यस्तै जन्मेदेखि १५ महिनाभित्रका ९ सय बालबालिकालाई सबै प्रकारका खोप लगाइएको थियो ।
हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्नुपर्छ । तथ्यांकसहित घोषणा गरिने खोप अभियानलाई सफल बनाउन खोजी कार्य गर्न टोली गठन गरी सबैलाई अभिमूखीकरण गरेर घरघर पठाइएको जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद सापकोटाले बताए । बजार क्षेत्रमा माइक समेत लगाएर घरघरमा कोही छुटेको भए जानकारी दिन समेत आग्रह गरिएको छ । ‘सरकारी लक्ष्य पूरा गर्न कोही पनि सेवाबाट छुट्नु हुँदैन,’ खनालले भने, ‘यो अभियान पूरा गरी सबै तथ्यांक पनि अद्यावधिक गरिने छ ।’
खटिएको टोलीबाहेक वडा तहले पनि नियमित खोजी भने गरिरहने उनले बताए । वैसाख महिनाभित्र सबै खोप पूर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको पालिका घोषणा गरिनेछ ।
