बागलुङमा ६ महिनामा लक्ष्यको ३१ प्रतिशत कर संकलन

आर्थिक वर्षभरि कुल १ अर्ब ४३ करोड ३४ लाख कर संकलन गर्ने लक्ष्य राखेकोमा पुससम्म ४४ करोड ८ लाख ७५ हजार रुपैयाँ संकलन गरेको हो ।

माघ २३, २०८२

प्रकाश बराल

Baglung collects 31 percent of tax target in 6 months

What you should know

बागलुङ — आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३१ प्रतिशत मात्र कर संकलन गरेको छ ।

आर्थिक वर्षभरि कुल १ अर्ब ४३ करोड ३४ लाख कर संकलन गर्ने लक्ष्य राखेकोमा पुससम्म ४४ करोड ८ लाख ७५ हजार रुपैयाँ संकलन गरेको हो । जुन ३० दशमलब ७५ प्रतिशत हो । पुस महिनामा मात्रै १३ करोड ५३ लाख राजश्व संकलन भएको प्रमुख कर अधिकृत कपिल सिलवालले बताए । 

कार्यालयले पहिलो ६ महिनामा आयकर तर्फ २४ करोड ३० लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै, बहाल कर तर्फ ३९ लाख, व्याज तर्फ ४ करोड ५८ लाख ९० हजार, मूल्य अभिवृद्दि कर तर्फ १० करोड ६८ लाख ३९ हजार रुपैयाँ संकलन गरेको सिलवालले जानकारी दिए । त्यसबाहेक बागलुङमा अन्तशुल्क तर्फ ३ करोड ६७्र लाख १३ हजार रुपैयाँ संकलन भएको छ । जिल्लामा स्वास्थ्य कर तर्फ ४४ लाख ८० हजार, संकलन भएको छ । 

पछिल्लो समय ठूलो कारोबार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठूला करदाता कार्यालयमा तिर्न थालेका छन् । यो क्रमले कर संकलनमा कमी अंक देखिएको सूचना अधिकारी राजनमणी शर्माले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/०८२ मा बागलुङमा १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ कर संकलन भएको थियो । १ अर्ब २२ करोड ३९ लाख संकलन गर्ने लक्ष्यको ८८ प्रतिशत संकलन गरेको कार्यालयले यो बर्ष १ अर्ब ४३ करोडकोलक्ष्य पच्छ्याई रहेको हो । संकलित कर मध्ये सबैभन्दा धेरै आयकरबाट संकलन हुने गरेको छ ।

गत आर्थिक वर्षमा आयकरबाट मात्र ६० करोड १० लाख रुपैयाँ संकलन भएको थियो । त्यसबाहेक व्याज करबाट १० करोड ४१ लाख, भ्याटबाट २९ करोड ७४ लाख, अन्तशुल्कबाट ५ करोड ८५ लाख, बहालकर बापत १ करोड ५३ लाख र शैक्षिक करबाट ५ करोड ८५ लाख संकलन भएको थियो । 

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ म १ अर्ब २० करोड संकलन गर्ने लक्ष्यमा कार्यालयले ८० प्रतिशत अर्थात ९६ करोड ६७ लाख रुपैयाँ मात्रै कर संकलन गरेको थियो । पछिल्लो समय व्यवसायिक प्यान र अन्तशुल्क समेत बढ्दै गएकोले कर संकलनमा पनि सुधार भएको हो ।

पछिल्लो समय ५० करोडसम्मको आय भएका लघुवित्तहरु माथिल्लो तहमा कर तिर्न जान थालेका छन् । लघुवित्तहरु जिल्लामै रहुन्जेल आर्थिक वर्ष २०७६/०७७ मा ९९ करोड ९७ लाख संकलन गरेर १ सय ३ प्रशित र आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ९ करोड कर संकलन गरेर यहाा १ सय २६ प्रशित प्रगति भएको थियो । कार्यालयले गत वर्ष ८२ वटा सूचकमा २२ वटा करदाता शिक्षा अभियान चलाएर एकै वर्षमा २ हजार १ सय २३ आयकर र १ सय ९ वटा भ्याट दर्ता गराएको थियो । त्यस्तै एकै वर्षमा ७ हजार ७सय ४७ व्यक्तिगत र १ हजार ९ सय १७ अन्तशुल्कमा करदाता थप भएका छन् । 

बागलुङमा २५ हजार व्यवसायिक करदाता छन् । चालु आर्थिक वर्षको पुसदेखि छिमेकी पर्वत जिल्लामा रहेको करदाता सेवा कार्यालय भने बन्द भएको छ । यो कार्यालयले गर्ने अधिकांश काम कोष तथा लेखा नियन्त्रण कार्यालयमा सरेको छ भने केही अत्यावश्यक काम आन्तरिक राजश्व कार्यालय बागलुङबाट हुनेछन् ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully