प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

चौतारीले एक/एक लाख रुपैयाँको दुई वटा कोषको व्याजबाट हरेक वर्ष दुई जना पत्रकारलाई पुरस्कार दिने कार्यविधि बनाएको छ।

माघ २२, २०८२

प्रकाश बराल

Two journalists awarded on Press Chautari's foundation day

बागलुङ — प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा बागलुङका दुई पत्रकार पुरस्कृत भएका छन् ।

२०७२ सालमा स्थापना भएको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सिर्जना पन्त र प्रेस चौतारी युवा पुरस्कारबाट महासंघकै सदस्य अर्जुन कार्की पुरस्कृत भएका हुन् । 

पुरस्कृत पन्त चौतारीको पर्वत जिल्ला इन्चार्ज र कार्की जिल्ला शाखा बागलुङका उपाध्यक्ष समेत हुन् । एमाले केन्द्रीय सदस्य मनकुमारी जिसीले पत्रकारलाई पुरस्कार प्रदान गरिन् । पुरस्कार जनही १० हजार रुपैयाँ रहेको जिल्ला अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

चौतारीले एक/एक लाख रुपैयाँको दुई वटा कोष बनाएको छ । उक्त कोषको व्याजबाट हरेक वर्ष दुई जना पत्रकारलाई पुरस्कार दिने गरी कार्यविधि बनाएको हो ।

दिवसको अवसरमा वक्ताहरुले नागरिकको मनोविज्ञान भत्कन नदिन प्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाली प्रेस समेत संकटमा परेको बेला जिम्मेवार र तथ्य पत्रकारिताले मात्र राज्यलाई दिशानिर्देश गर्न सक्ने केसीले बताइन् ।

उनले लोकतन्त्र लुटिन र कुटिन नदिन प्रेसले अग्रणी भूमिका खेल्नुपर्ने समेत बताइन् । सत्यतथ्य सूचनाबाटै नागरिकले सही कुरा जान्न पाउने भएकोले पत्रकारिता त्यसतर्फ लाग्नुपर्ने पनि उनले बताइन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully