हातहतियार बुझाउन लमजुङ प्रशासनको पुनः ताकेता

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा विभिन्न समयमा १ हजार ५ सय २७ जनाले हातहतियार राख्ने अनुमति लिएका छन् । तीमध्ये एकनाले बन्दुक ८ सय ७१ थान र बृज लोडिङ २ सय ३४ थान छन् ।

माघ २२, २०८२

आश गुरुङ

Lamjung administration again asks to hand over weapons

What you should know

लमजुङ — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय लमजुङले इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन पुनः सात दिनको ताकेता गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला कमाण्ड पोष्टको माघ ६ गतेको बैठकले पहिलोपटक माघ २० गतेभित्र प्रहरी कार्यालयमा हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।

तोकिएको अवधिभित्र सबै हातहतियार संकलन नभएको भन्दै बुधबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले हातहतियार बुझाउने सन्दर्भमा पुनः सात दिनको म्याद दिँदै ताकेता गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिए ।

निर्णय अनुसार बुधबार नै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी ७ दिनभित्र आफूसँग भएका हातहतियार बुझाउन ताकेता गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा साढे चार सयभन्दा बढी हातहतियार नवीकरण भएका छन् । तर, सूचनापछि १५ दिनको अवधिमा जम्मा ७८ थान हातहतियार मात्र संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिलो सूचनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १७ थान, इलाका प्रहरी कार्यालय भोर्लेटारमा १३, भोटेओडारमा ८, सुन्दरबजारमा ५, प्रहरी चौकी कुन्छामा ९, चितीमा ५, बाहुनडाँडा, दुराडाँडा, गौंडा, अस्थायी प्रहरी पोष्ट धमिलिकुवा र गाउँसहरमा २/२ थान, अस्थायी प्रहरी पोष्ट जगतमा १० र मालिङमा १ थान हातहतियार संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा विभिन्न समयमा १ हजार ५ सय २७ जनाले हातहतियार राख्ने अनुमति लिएका छन् । तीमध्ये एकनाले बन्दुक ८ सय ७१ थान र बृज लोडिङ २ सय ३४ थान छन् । गत आर्थिक वर्षमा मात्रै प्रहरीले १ सय १२ थान अवैध (नवीकरण म्याद नाघेका) हातहतियार संकलन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार हातहतियार प्रत्येक ५/५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । समयमा नवीकरण नगरिएका हातहतियार अवैध मानिन्छन् । ‘चुनावलाई लक्षित गर्दै हतियार बुझाउन आग्रह गरेका हौं, तर अपेक्षाकृत संकलन हुन सकेन,’ उनले भने, ‘कतिपय हतियार कागजमै मात्र रहेको वा विगतको द्वन्द्वकालमा लुटिएको हुन सक्ने आशंका पनि छ । हामीले चुनावलाई मध्यनजर राख्दै हातहतियार बुझाउने म्याद पुनः एक साताका लागि थप गरेका छौं ।’

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले चुनावअघि तोकिएको समयमा हातहतियार बुझाउन आग्रह गरे । ‘आफूसँग रहेको इजाजत प्राप्त हातहतियार अनिवार्य बुझाउनु होला । नबुझाएको पाइएमा कानुनी कारबाही हुन्छ,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully