तिमल्सिना र लम्साल जिल्ला नफर्केपछि एमालेमा चर्चा

‘पर्वत जानलाई न तिथि हेर्नु पर्‍यो, न मिति,’ राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाले भने, ‘फोनबाट मिडियासित कुराकानी नगरौं, आवश्यकताअनुसार आइहाल्छु ।’

माघ २१, २०८२

सुमनजंग थापा

Discussion in UML after Timalsina and Lamsal districts not returned

What you should know

पर्वत — गत माघ ६ गते एमाले उम्मेदवार पदम गिरीले कार्यकर्ता र नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । त्यसबेला एमाले कार्यकर्ताले राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिना र संविधानसभा सदस्य विकास लम्सालको खोजी गरे । तर दुवै जना त्यहाँ उपस्थित थिएनन् ।

गिरीले एक साताअघि कुश्मा–३, दुर्लुङबाट घरदैलो अभियान सुरु गरेका छन् । तेस्रो जितको पर्खाइमा रहेका गिरीले त्यहाँ पनि आफ्नै अग्रज नेताको साथ पाएनन् । चुनावी अभियानमा तिमल्सिना र लम्साल देखा नपरेपछि पार्टीभित्र गुटले काम गरेको कार्यकर्ताको आरोप छ । यहाँका कार्यकर्ता एमाले केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज गिरीले पार्टीमा प्रभाव मजबुत बनाएपछि तिमल्सिना र लम्सालको राजनीति छायामा परेको बताउँछन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई काखी च्यापेपछि तिमल्सिना र लम्साल जिम्मेवारीविहीन बनेको कार्यकर्ताको बुझाइ छ । मोदी–७ राम्जाका तिमल्सिना परिवारसहित पोखरामा बसिरहेका छन् । पदमा रहेका बेला गृहजिल्ला आइरहने उनी अहिले फर्किएका छैनन् । ‘पर्वत जानलाई न तिथि हेर्नु पर्‍यो, न मिति,’ राष्ट्रियसभाका पूर्वअध्यक्षले भने, ‘फोनबाट मिडियासित कुराकानी नगरौं, आवश्यकताअनुसार आइहाल्छु ।’

०७० मा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित तिमल्सिना गण्डकी प्रदेश सह–संयोजक थिए । ०५४ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सभापति भए । ०७० को प्रत्यक्ष निर्वाचनमा पर्वत–१ बाट उम्मेदवार बनेका उनी कांग्रेसका अर्जुनप्रसाद जोशीसँग पराजित भएका थिए । 

एमालेको ११ औं महाधिवेशनमा पर्वतबाट तिमल्सिना र लम्साल प्रतिनिधि नै हुन पाएनन् । केन्द्रीय सदस्य गिरीको संयोजकत्वमा प्रतिनिधि छनोट समितिले उनीहरू दुवैलाई पाखा लगाएको थियो । पार्टीको जिम्मेवारीमा नभएकाले जिल्लामा भइरहेको चुनावी अभियानमा आफू देखा नपरेको लम्साल बताउँछन् । फागुन ४ गतेबाट मात्रै वैधानिक रूपले प्रचारप्रसारको काम सुरु हुने उनले बताए । ‘साथीहरूले आन्तरिक बैठक गर्नुभएको छ, म त्यसमा छैन,’ उनले भने, ‘अहिले चुनाव लाकै छैन, प्रचारप्रसारको समय भएकै छैन ।’

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पर्वत–२ बाट विजयी लम्साल ०७४ मा प्रदेशसभा सदस्यको चुनाव लड्नुपर्ने भयो । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा भएको गठबन्धनको फाइदा गिरीलाई भयो । तिमल्सिना र लम्साल चुनावी मैदानमा नदेखिए पनि अनुगमन जिम्मेवारीमा बसेर काम गरिरहेको एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडीले बताए । चुनावलाई केन्द्रमा राखेर १२–१५ जनाको टिम बनाएर काम भइरहेको उनले बताए ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully