माथिल्लो मनाङको ढिकुरपोखरीदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।
What you should know
लमजुङ — मनाङमा एक सातापछि पुनः हिमपात भएको छ । अघिल्लो मंगलबार (माघ १४) हिमपात भएको मनाङमा मंगलबार फेरि हिमपात भएको हो ।
माथिल्लो मनाङको ढिकुर पोखरीदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार मंगलबार बिहान एकछिन घाम लागेकोमा दिउँसो मौसम बिग्रिएको थियो । १–२ बजेदेखि बिस्तारै हिउँ पर्न थालेको र ३ बजे आसपासदेखि बढी पर्न थालेको उनले बताए ।
‘अस्तिको हिउँ पग्लिएर सकिएको थिएन, फेरि थपियो । अहिले हिउँ पर्नुले खेतीबाली र घाँसपातलाई राम्रो हुन्छ,’ उनले भने । उनका अनुसार बाहिर चिसो भए पनि घरभित्र मानिसहरु आगो तापेर बसेको बताए । उनले हावा नचलेका कारण हिमपातबाट धेरै प्रभावित नभएको बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार मनाङ गाउँ साथै माथिल्लो क्षेत्रमा दिउँसो ३ बजेदेखि हिमपात भइरहेको छ । ‘हिजो दिनैभरि घाम लाग्यो । बिहान पनि केही बेर त घाम लाग्यो । दिउँसोबाट हिउँ पर्यो,’ उनले भने ।
उनका अनुसार १८ जना विदेशी पर्यटक थोराङ्लातर्फ गएका छन् । हिमपात भएको समय पर्यटकलाई जोखिम अवस्थालाई मध्यनजर राखेर सुरक्षित तवरले गन्तव्यमा जान आग्रह गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार मनाङको माथिल्लो क्षेत्रमा दिउँसोदेखि हिमपात भएको छ । सदरमुकाम चामेमा बादल लागेको तर, पानी र हिउँ भने नपरेको उनले बताए । ‘दिउँसोसम्म घाम लागेको थियो । १–२ बजेदेखि मौसम बदलियो,’ उनले भने, ‘अस्तिको जस्तै हेभी त अहिलेसम्म परेको छैन । हिउँ भने पर्न थालेको छ ।’
उनका अनुसार एक साताअघि परेको हिमपातका कारण बन्द सडक केही दिनअघि खुलेको थियो । बुधबार माथिल्लो मनाङतर्फ सवारी साधन पनि गएका थिए । अब सडक बन्द भएको उनले बताए । ‘हिँडेर जाने पर्यटकलाई त खासै समस्या नहोला । मोटरसाइकलमा आउनेलाईचाहिँ समस्या भयो,’ उनले भने । उनले माथिल्लो क्षेत्रसँगै नार्पाभूमि क्षेत्रमा पनि हिमपात भएको हुन सक्ने बताए ।
![Snowfall again in Manang after a week [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/manang-feri-himpatmanang-2-0322026120558-1000x0.jpg&w=1001&h=0)