जिल्लाको एक हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ भने ३ सय बढी किसान आवद्ध छन् ।
What you should know
गोरखा — गत वर्षको तुलनामा गोरखामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ ।
यस वर्ष ३ हजार मेट्रिक टन सुन्तला उत्पादन झएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यत्रम कार्यन्वयन इकाई गोरखाकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् ।
कार्यालयका अनुसार यो वर्ष गोरखाबाट २१ करोड रुपैयाँ बराबरको सुन्तला बिक्रि भएको छ । ‘यस वर्ष सुन्तला राम्रो फलेको थियो,’ उनले भनिन्,‘किसानले सुन्तलाको भाउ पनि पाएका छन्, सरदर ७० रुपैयाँ प्रतिकेजीका दरले बिक्री हुँदा पनि २१ करोडको सुन्तला जिल्लाबाट बिक्री भएको छ ।’
प्रतिकेजी ७० देखि १ सय ५० रुपैयाँसम्ममा किसानले सुन्तला बिक्रि गरेको रेग्मीले बताइन् । ‘गण्डकी गाउँपालिकाको एक सहकारीबाट दुई करोड हाराहारीमा सुन्तला बिक्री भएको तथ्यांक आएको छ,’ उनले भनिन्, ‘जिल्लाभरको अवस्था हेर्दा गोरखा नगरपालिका क्षेत्रमा एउटै किसानले ३० लाखसम्म पनि सुन्तला बिक्री गर्नुभएको छ ।’
गत वर्ष गोरखामा २५ सय मेट्रिक सुन्तला उत्पादन भएको थियो । पुराना बोटमा पनि सुन्तला राम्रो फलेको र नयाँ बोटले पनि उत्पादन दिन थालेसागै उत्पादन र आम्दानी बढेको इकाइ कार्यालयले जनाएको छ । ‘सुन्तला बिक्री लगभग अन्तिम चरणमा पुगेको छ,’ रेग्मीले भनिन्,‘सुन्तला टिपिसकेर अहिले किसान बगैंचाको काँटछाँट र सुदृढीकरणमा लागि सक्नुभएको छ ।’ त्यस्तै यस वर्ष करिब १ सय ८७ मेट्रिक टन कागती पनि उत्पादन भएको रेग्मीले बताइन् । जिल्लाभरबाट एक करोड ५० लाख रुपैयाँ बराबरको कागती बिक्री भएको उनले बताइन् ।
पुराना बगैंचा नासिँदै गएपछि लगाइएको नयाँ बिरुवाबाट पनि उत्पादन दिन थालेको गण्डकी गाउँपालिका–२ का एकबहादुर थापाले बताए । ‘नयाा विरुवाबाट पनि उत्पादन आउन थालेपछि आम्दानी पनि बढेको छ,’ उनले भने ।
जिल्लामा सुन्तला खेती प्रवर्द्धनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यन्वयन इकाई गोरखाले सघाउँदै आएको छ । गण्डकी, सहिद लखन, भीमसेन थापा, गोरखा नगरपालिका र पालुङटारको ९ र १० मा व्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ ।
जिल्लाको एक हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ भने ३ सय बढी किसान सुन्तला खेतीमा आवद्ध छन् । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौं, पोखरालगायतका सहरसम्म बिक्री हुँदै आएको छ ।
