लमजुङमा ८ वर्षपछि एक्ला–एक्लै चुनाव लड्दै दलहरु

यसअघिका २ वटा निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिन्हमा मतदान गर्न नपाएका कार्यकर्ताहरु यसपटक भने आफ्नै पार्टीको चुनाव चिन्हमा मत हाल्न पाउने भएका छन् ।

माघ १९, २०८२

आश गुरुङ

Parties contest elections separately in Lamjung after 8 years

What you should know

लमजुङ — समय–समयमा तालमेल भइरहेको लमजुङमा पछिल्लो ८ वर्षपछि सबै राजनीतिक दल चुनावमा आमने–समाने छन् ।

गठबन्धनविनै चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु निर्वाचन आयोगले तोकेको प्रचारप्रसार समय अगावै गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुँदा लमजुङमा भने ‘बाम गठबन्धन’ को सुरुवात भएको थियो । त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले–माओवादी केन्द्र मिलेर देशभर चुनाव लडे ।

२०७९ को स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रसहित ५ दलीय गठबन्धन रहेको लमजुङमा यसपटक भने सबै राजनीतिक दल अलग–अलग प्रतिस्पर्धामा छन् । 

२०४८ को निर्वाचनमा ‘एक बाम–एक ठाम’ को नारा लिएर पृथ्वीसुब्बा गुरुङ लमजुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्दा त्यतिबेला एमालेले केशवलाल श्रेष्ठको उम्मेदवार झिकेर तत्कालीन जनमोर्चाका तर्फबाट क्षेत्र नम्बर १ मा देवप्रसाद गुरुङलाई सघाएका थिए । यो एउटा गठबन्धन नै थियो । 

एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार २०४९ को स्थानीय निकाय निर्वाचनमा राजनीतिक दलका आ–आफ्नै उम्मेदवार थिए । २०५४ को स्थानीय निकाय निर्वाचनमा एमाले र राप्रपा गठबन्धन थियो । गाविस चुनाव सकिएर जिल्ला विकास समितिको निर्वाचनमा आइपुग्दा कांग्रेस र राप्रपा गठबन्धन भयो ।
एमालेका जमीन्द्रमान घले जिल्ला विकास समितिमा निर्वाचित हुँदा कांग्रेसबाट विद्रोह गरेका स्थीरबाबु घिमिरे उपसभापति बने । कांग्रेसबाटै विद्रोह गरेका गमप्रसाद गुरुङ सदस्य बने । उनै गमप्रसाद अहिले कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल एक्लाएक्लै चुनाव लडे । शान्ति प्रक्रियापछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि सबै राजनीतिक दलका आ–आफ्नै उम्मेदवार थिए ।
समय–समयमा तालमेल भइरहेको लमजुङमा पछिल्लो ८ वर्षपछि सबै राजनीतिक दल चुनावमा आमने–समाने छन् । 

बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पस प्रमुख हरिबाबु थापा चुनावमा राजनीतिक दलहरु एक्ला–एक्लै प्रतिष्पर्धा गर्नु राम्रो पक्ष भएको बताउँछन् । ‘मिलेर चुनाव लड्दा कुन दलको विचार के हो, कुन दलको घोषणापत्र के हो ? भन्ने प्रष्ट हुँदैन,’ उनले भने, ‘मिलेर चुनाव लड्ने र तिनै मिलेकाबीच सत्ता साझेदारी गर्दा जनताको आवाज बोल्दैन ।’

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनबाट माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङ एमाले उम्मेदवार तत्कालीन उपमहासचिव (हाल उपाध्यक्ष) पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए । तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारहरु कांग्रेसका टकराज गुरुङ र भेषबहादुर पौडेल भने क्रमशः लमजुङ प्रदेश (१) र (२) बाट निर्वाचित भएका थिए ।

२०७४ मा माओवादी केन्द्र र एमाले तालमेल हुँदा उनै देवप्रसाद गुरुङले कांग्रेसका दिलबहादुर घर्तीलाई हराएका थिए । त्यतिबेला प्रदेशसभा सदस्यमा क्रमशः लमजुङ (१) बाट एमालेका धनञ्जय दवाडी र लमजुङ (२) बाट पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका थिए । पृथ्वीसुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत बने । पछिल्लो पटक कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका उनी अहिले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । देवप्रसाद भने यसपाली चुनावी मैदानमा छैनन् ।

यसअघिका २ वटा निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिन्हमा मतदान गर्न नपाएका कार्यकर्ताहरु यसपटक भने आफ्नै पार्टीको चुनाव चिन्हमा मत हाल्न पाएने भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी लोकतन्त्रको सुन्दर पक्ष नै आफूले चाहेको ठाउँमा मतदान गर्न पाउनु हो भन्छन् ।  

लमजुङमा यसपटकको निर्वाचनमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, कांग्रेसबाट गमप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट हरिजङ तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धर्मराज केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट केविन्द्रजङ गुरुङ चुनावी मैदानमा छन् । 

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का गुजेश्वरी प्रजापति मगजु, नेकपा माओवादीका रविन्द्र नखोला, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ तथा स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे चुनावी मैदानमा छन् । 

लमजुङमा फागुन २१ का लागि कूल १ लाख ३७ हजार १ सय २४ जना मतदाता छन् । यीमध्ये महिला ६९ हजार ५ सय २४ जना महिला र ६७ हजार ६ सय जना पुरुष छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तुलनामा यसपटक ३ हजार ४ सय जना मतदाता थपिएका छन् । गत निर्वाचनमा १ लाख ३३ हजार ७ सय १७ जना मतदाता थिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully