घाइते सबैको बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ
लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका ६, बेलौती बिसौनामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
बेंसीसहर चामे सडकअन्तर्गत पर्ने उक्त ठाउँमा खुदीबाट बेंसीसहरतर्फ आउँदै गरेको बा.प्र.०२–०२८ प २४०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग २० प ४२८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार बिहीबार दिउँसो करिब साढे ५ बजेतिर मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा घाइते ग२०प ४२८१ नम्बरको मोटरसाइकल चालक बेंसीसहर नगरपालिका–८ झ्याङखोलाका ३२ वर्षीय रविनकुमार श्रेष्ठ दुवै हातखुट्टा र छातीमा भित्री चोट लागेको छ ।
उक्त मोटरसाइकलको पछाडि सवार तनहुँ शुक्लागण्डकी नगरपालिका–५ नयाँगाउँका १९ वर्षीय जेम्स पन्तको दाहिने साँप्रामा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बा.प्र.०२–०२८ प २४०६ नम्बरको मोटरसाइकल चालक मर्स्याङ्दी गाउँपालिका–६ का २२ वर्षीय सुनिल गुरुङको दाहिने हातमा चोट लागेको छ । पछाडि सवार १९ वर्षीय राजन गुरुङको दाहिने घुँडामा चोट लागेको छ । उनीहरू सबैको बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
मोटरसाइकल तीव्र गतिमा दौडिएका कारण आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले बताएको छ ।
