माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल लगायत गाउँ हिउँले ढाकिएको मनाङका स्थानीय सगर गुरुङले जानकारी दिए ।
What you should know
लमजुङ — हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा हिउँ परिरहेको छ । स्थानीयका अनुसार बुधबार बिहान १ बजेदेखि हिउँ परिरहेको छ ।
यसअघि कात्तिक १० र ११ गते हिमपात भएकोमा मंसिर र पुस महिनामा हिउँ परेको थिएन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल लगायत गाउँ हिउँले ढाकिएको मनाङका स्थानीय सगर गुरुङले जानकारी दिए ।
उनका अनुसार मनाङ गाउँतिर करिव १ फिट जति हिउँ परेको छ । उनले अब खेती गर्ने बेला भएकाले किसान खुसी भएको बताए । उनले पर्यटकलाई हिउँ खेल्न आउन समेत अनुरोध गरे । हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन । पर्यटक पनि रोकिएका छन ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भैरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यमा जानबाट रोकिएको उनले बताए । 'अहिले पर्यटक त्यति धेरै त छैनन् । पर्यटकीय गन्तव्य तिलिचो र थोराङलातिर हिउँ छ । हिउँ परेको नरोकिएसम्म पर्यटकलाई गन्तव्यमा नजान भनेका छौं' उनले भने ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा रातीदेखि हिमपात भैरहेको छ । सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ ।
‘तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी पर्नुका साथै मौसम बदली छ । नार्पाभूमितिर गोठाला १०-१२ जनाबाहेक छैन भन्ने बुझिन्छ । त्यता कसैसङ्ग सम्पर्क भएको छैन, सायद त्यतातिर पनि हिउँ परेको हुन सक्छ' उनले भने ।
![Heavy snowfall in Upper Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/62432566319977388174560563137415111476498227n-2812026052553-1000x0.jpg&w=1001&h=0)