तनहुँको थर्पुमा भ्यान दुर्घटना, १३ वर्षीया बालिकाको मृत्यु

कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको भ्यानका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ ।

माघ ११, २०८२

सम्झना रसाइली

Van accident in Tharpu, Tanahun, 13-year-old girl dies

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–४ कोलडाँडास्थित कोलडाँडा–थर्पु भित्री सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्युु हुनेमा म्याग्दे–४ कोलडाँडा निवासी बुद्धिबहादुर घर्तीकी १३ वर्षीया छोरी कोइस्का घर्ती रहेकाे प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ७:३० बजेको समयमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते कोइस्काकाे टाउकोमा गम्भीर चोट लागेकाे र उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पतालमा बिहान करिब ८:४० बजेको समयमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको तनहुँ प्रहरीले जनाएको छ।

त्यस्तै, सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती छाती र कुममा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको जनाइएको छ । दुर्घटनाका बेला चालकसहित तीन जना उक्त भ्यानमा सवार थिए।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully