फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लमजुङमा १ हजार ३ सय ६ जना निर्वाचन प्रहरी माग भएको थियो ।
What you should know
लमजुङ — लमजुङमा मागसंख्या नपुगेपछि २ पटक म्याद थपेर निर्वाचन भर्ना गरिएको छ। पहिलोपटक २ दिन म्याद थप्दा समेत नपुगेपछि पछिल्लो समय पुनः २ दिन म्याद थप गरिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लमजुङमा १ हजार ३ सय ६ जना निर्वाचन प्रहरी माग भएको थियो । सुरुमा पुस २५ देखि माघ १ गतेसम्म आवेदन खुला गरिएकोमा १ हजार १ सय जनाले आवेदन दिएका थिए ।
त्यसपछि माघ २ र ३ गते २ दिन थप गरिएकोमा उक्त समय डेढ सय जना थप भएर आवेदन दिनेको संख्या कूल १ हजार २ सय ४२ जना पुगेको छ । उनीहरुको छनौटकार्य भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार २ दिन थप गर्दा पनि मागसंख्या नपुगेपछि पुनः २ दिन शनिबार र आइतबार थप गरिएको छ । यो २ दिनमा थप भएकालाई समेत गरी छनौट प्रक्रियामा लगिने उनले बताए । उनले अन्तिम नतिजा माघ १२ गते प्रकासन गरिने बताए । छनौटमा परेकालाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने छ ।
निर्वाचन प्रहरीका लागि जिल्ला भरका प्रहरी चौकी साथै बेंसीसहर नगरपालिका ३, रानीकुवास्थित सशस्त्र प्रहरी बलको गुल्ममार्फत पनि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । यसअघिका निर्वाचनहरुमा म्यादी प्रहरीका रुपमा आवश्यक भन्दा बढीले आवेदन दिने गरेकोमा यसपटकको निर्वाचनमा कम संख्यामा आवेदन परेको छ ।
आवेदन दिने व्यक्तिको अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेमा केही व्यक्तिहरु भने उमेर हदका कारण फर्किएको प्रहरीले बताएको छ । तोकिएको उमेर समूहकामा नेपाली नागरिक, सामान्य लेखपढ भएका, कुनै फौजदारी अभियोगमा सजाय नपाएका, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त भएको हुनेपर्ने प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, साथै २०८१ माघ १ देखि २०८२ पुससम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका विभिन्न पदमा आवेदन दिई शारीरिक तन्दुरुस्त तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
यस्तै, यसअघिका निर्वाचनहरुमा म्यादी प्रहरीको रुपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेकालाई समेत प्राथामिकतामा राखेर छनोट गरिने प्रहरी निरीक्षक क्षेत्रीले बताए ।
प्रतिनिधिसभाको लागि एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा आगामी फागुन २१ को निर्वाचनका लागि १ सय ३० मतदानस्थलमा १ सय ८६ मतदान केन्द्र तोकिएका छन् । यसको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिनेछन् ।
