स्वतन्त्र रुपमा उम्मेदवार बनेका ३ जनामध्ये १ महिला छन् ।
गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाको दुवै निर्वाचन क्षेत्रबाट ३ जना महिलाको मात्र उम्मेदवारी परेको छ ।
मुख्य राजनीतिक दलहरुले समेत प्रत्यक्षमा महिलालाई उम्मेदवारी बनाएका छैनन्। गोरखा–१ मा १३ उम्मेदवारमध्ये २ जना महिला छन् भने गोरखा–२ मा उम्मेदवार बनेका १४ मध्ये १ मात्र महिला छन् ।
गोरखा क्षेत्र नम्बर १ मा गोरखा नगरपालिका–१ की कविता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। गोरखा –६ की मनुकुमारी श्रेष्ठले नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएकी छन् । गोरखा क्षेत्र नम्बर २ मा आम जनता पार्टीबाट पालुङटार–७ की कल्पना कुमालले उम्मेदवारी दिएकी छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखामा २७ जनाले उम्मेदवारी दिएका छन् । २७ मध्ये ३ जनाले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। अजिरकोट गाउँपालिका–५ का ३८ वर्षीय हरि पोखरेलले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्। त्यस्तै सिरानचोक–२ का चुडाप्रसाद ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
