निर्वाचन आचारसंहिता उल्लंघन नगर्न दलहरूलाई प्रशासनद्वारा सचेत

सूचनामा स्थानीय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा कुनै किसिमको भेला गर्न नपाइने उल्लेख छ ।

माघ ८, २०८२

आश गुरुङ

Administration warns parties not to violate election code of conduct

What you should know

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा बिहीबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाले आचारसंहिता उल्लंघन भए राजनीतिक दल वा उम्मेदवारले कानुनअनुसार कारबाही व्यहोर्नुपर्ने स्पष्ट पारे । यसबारे सर्वदलीय–सर्वपक्षीय बैठकमा पनि राजनीतिक दलहरुलाई जानकारी गराइसकिएको उनले बताए । ‘चुनावलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने हाम्रो उद्देश्य हो । यसका लागि राजनीतिक दल र सम्बन्धितले आचारसंहिता पालना गर्नैपर्छ,’ उनले भने ।

सूचनामा स्थानीय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा कुनै किसिमको भेला गर्न नपाइने उल्लेख छ । साथै, यस्ता कार्यक्रम गर्नुअघि कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको जानकारी गराउनुपर्ने उल्लेख छ ।

एकै समयमा एउटै स्थान वा मार्गमा एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलका भ्रातृ संगठनले जुलुस, आमसभा, बैठक वा भेला गर्न नपाइने प्रशासनले जनाएको छ । यदि त्यस्तो अवस्था सिर्जना भएमा कार्यक्रम स्थल वा मार्ग परिवर्तन गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ।

यस्तै, जुलुस, आमसभा, कोणसभा, भेला तथा प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले शान्ति, सुरक्षा र मर्यादित निर्वाचन वातावरण कायम गर्न सबै राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully