अनौपचारिक रूपमा सुरु भएको अभियानका क्रममा वरपर गाउँका स्थानीयसमेत सहभागी थिए । उनलाई घलेगाउँका आमाहरुले रुबा (मन्त्रेको धागो) लगाएर शुभकामना दिएका थिए ।
लमजुङ — नेकपा (एमाले) उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ उम्मेदवार मनोनयन गरेपछि मंगलबार श्रीमती कुमारीमुनी गुरुङसहित ग्रामीण पर्यटकीय गाउँले चर्चा कमाएको घलेगाउँ पुगे ।
शान्ति पुनर्स्थापनापछि बनेको २०६४ को अन्तरिम सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हुँदा उनको पहलमा घलेगाउँ दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा गरिएको थियो ।
क्व्होलासोथार गाउँपालिका-३ मा पर्ने यो गाउँ पृथ्वी सुब्बाको छिमेकी गाउँ हो । वडा नं. ९ गिलुङ टक्सारका पृथ्वी सुब्बाले बुधबार बिहान सात जना कन्यालाई दही र चामल मोलेर बनाइएको अक्षता (टीका)का साथै सयपत्री फूलको थुंगा लगाइदिएर ढोग गरे र चुनावी अभियान सुरु भएको घोषणा गरे । घलेगाउँलाई प्रेमबहादुर घलेको नेतृत्वले थप चिनायो । घले प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट समानुपातिक उम्मेदवार हुन् ।
अनौपचारिक रूपमा सुरु भएको अभियानका क्रममा वरपर गाउँका स्थानीयसमेत सहभागी थिए । उनलाई घलेगाउँका आमाहरूले रुबा (मन्त्रेको धागो) लगाएर शुभकामना दिएका थिए । ‘म ढुंगा खोज्दै आएको, तपाईंहरू देउता मिल्यो । प्रेम घलेलाई भेट्न आएको, तपाईंहरूसँग भेट भयो,’ उनले भने, ‘मेरो आजदेखि चुनावी अभियान सुरु भयो ।’ उनले बिहानै तिजे उत्तरकन्या देवीको दर्शन समेत गरेको उल्लेख गरे । उनका अनुसार यो यस क्षेत्रमा ठूलो देवीको रूपमा चिनिन्छ । त्यतिमात्र नभएर गुरुङ गुरुङ प्ये (बेद) का श्रृष्टिकर्ता छिँला क्रोइँ र गुरुङको अन्तिम राजा क्लाल्बोरोजा क्लेको शालिकमा समेत पुगे ।
‘मैले जन्माएको बच्चाहरू धेरै टुहुरा भए । धेरै सुकेनास लाग्यो । कोही गर्भमै रहृयो, जन्मनै पाएनन् । भनाइको मतलव धेरै योजनाहरू ल्याएको, बाटोको योजना, पानीको योजना । स्कुलको योजना, पुलको योजनाहरू, खेलमैदानका योजना धेरै पूरा भएको छैन, अलपत्र छन्, कोही अघि बढ्दै बढेन,’ उनले भने । उनले गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा २०७५ मा सुरु गरेको घलेगाउँ जोड्ने कालोपत्र ७ वर्षसम्म पनि पूरा हुन नसकेको उदाहरण दिए ।
‘०७६ मा कोभिड लाग्यो । ०७७ मा ठेकेदार आउनै आनाकानी गर्यो । गण्डकी प्रदेशका धेरै ठेकेदारलाई समातेर, बोलाएर, लिएर आएर काम गरायौं,’ उनले भने, 'कान्छाराम तामाङ (कांग्रेस नेता) हो यहाँको ठेकेदार । यो भन्दा अगाडि मसँगै संसद्मा हुँदा धेरैपटक कुराकानी गरेँ । अझै अधुरो छ । २ वर्षमा सक्ने भनेको काम ७/८ वर्ष लाग्यो भयो ।’ २०५३ सालतिर यी सडकहरूलाई ग्रीन रोड (हरित सडक)का रूपमा अघि बढाएको उनले बताए ।
‘कोही शिलान्यास भयो, बन्द भएको छ । कुनै हामीले निर्णय गर्यौं, कार्यान्वयनमै आएन । गर्भमै रहृयो, जन्मिएन । यस्ता धेरै योजना छन् लमजुङमा,’ उनले भने, ‘कहिले चुनाव हार्ने, कहिले जित्ने । जित्दाचाहिँ मन्त्री हुन नपाउने । मन्त्री भए पनि भनेको मन्त्री हुन नपाउने ।’ उनले बहुवर्षीय योजनाहरू आफू इतरका सरकारले अगाडि नबढाइदिँदा विकासले गति लिन नसकेको बताए । उनले आफू पदाधिकारी भएको हैसियतले पार्टी सरकारमा जाँदा रोजेको मन्त्री हुने अवसर पाइने भन्दै यसपटक पनि जिताउन आग्रह गरे । उनले अधुरा योजना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
संघीयतापछि प्रतिनिधि सभा सदस्यका लागि एउटामात्र निर्वाचन क्षेत्र कायम भएको लमजुङमा उनी दोस्रोपटक चुनावी मैदानमा छन् । २०७९ को चुनावमा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तत्कालीन माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई हराउँदै पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका थिए ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यका लागि पृथ्वी सुब्बा गुरुङसँगै नेपाली कांग्रेसका तर्फबाट जिल्ला सदस्य गमप्रसाद गुरुङ, रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजङ तामाङ, राप्रपा जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट गुजेश्वरी प्रजापति मगजु, सन्तोष घिमिरे, नेकपा (माओवादी) का रविन्द्र नखोला, नेश्नल रिपब्लिक नेपालका भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र जनादेश पार्टीका मिलन बास्कोटा गरी १२ जनाको उम्मेदवारी कायम भएको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए । उनका अनुसार यहाँका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन ।
