लमजुङ : एमाले–कांग्रेस उम्मेदवार छिमेकी गाउँका

दुवै जना गुरुङ समुदायभित्र लेम्मै (लामिछाने) खलकका हुन् । नाताले पृथ्वी सुब्बा र गमप्रसाद एकै खलकका दाजुभाइ समेत हुन् ।

माघ ७, २०८२

आश गुरुङ

Lamjung: UML-Congress candidate from neighboring village

लमजुङ — फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट उम्मेदारी दिएकामध्ये नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार छिमकी गाउँका परेका छन् । एउटाको गाउँदेखि अर्कोको गाउँ पुग्न सवारी साधनमा करिब १५ मिनेट लाग्छ ।

एउटै गाउँपालिकाका उनीहरूमध्ये एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ क्व्होलासोथार गाउँपालिका-९, टक्सार गाउँका हुन् । कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङ वडा नं ८, घाम्राङका हुन् ।

दुवै जना गुरुङ समुदायभित्र लेम्मै (लामिछाने) खलकका हुन् । नाताले पृथ्वी सुब्बा र गमप्रसाद एकै खलकका दाजुभाइ समेत हुन् । पृथ्वी सुब्बा पार्टीमा अहिले उपाध्यक्ष छन् । गमप्रसाद १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजितपछि जिल्ला कार्य समिति सदस्यमात्रै छन् । २०५८ मा कांग्रेस फुट्दा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातन्त्रिक) का जिल्ला उप–सभापति थिए ।

पृथ्वी सुब्बाले २०७९ को चुनावमा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गमप्रसादको भने संसदीय निर्वाचनमा यो पहिलो यात्रा हो ।

लमजुङमा मंगलबार उम्मेदवारी दिएका गुरुङद्वयसहित १२ जनाले उम्मेदवारी दिएका छन् । रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजङ तामाङ, राप्रपा जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका तर्फबाट गुजेश्वरी प्रजापति मगजु, सन्तोष घिमिरे, नेकपा (माओवादी) का रविन्द्र नखोला, नेश्नल रिपब्लिक नेपालका भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र जनादेश पार्टीका मिलन बास्कोटा गरी १२ जनाको उम्मेदवारी कायम भएको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए । उनका अनुसार जिल्लामा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully