मर्स्याङ्दीमा ५९ कृषि–पशु उपजको प्रदर्शनी

राष्ट्रिय कृषि जैविक विविधता सप्ताह २०८२ को अवसरमा गाउँपालिकाले बुधबार वडा नं. ३ को खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा कृषि मेला प्रदर्शनी आयोजना गरेको हो ।

माघ ७, २०८२

आश गुरुङ

Exhibition of 59 agricultural and livestock products in Marsyangdi

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाभित्र उत्पादित कृषि बाली र पशु उपजका ५९ प्रकारका उत्पादनको प्रदर्शनी गरिएको छ ।

राष्ट्रिय कृषि जैविक विविधता सप्ताह २०८२ को अवसरमा गाउँपालिकाले बुधबार वडा नं. ३ को खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा कृषि मेला प्रदर्शनी आयोजना गरेको हो । मेलामा गाउँपालिकाका विभिन्न गाउँबाट आएका किसान, कृषक समूह, कृषि फर्म र सहकारीहरुले आफूले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शन गरेका थिए । यसअघि समय–समयमा हाटबजार सञ्चालन गर्दै आएको गाउँपालिकाले यसपटक कृषि मेला प्रदर्शनीमार्फत स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिएको गाउँपालिका कृषि शाखा प्रमुख विनोद दाहालले बताए । उनका अनुसार घनपोखरा कृषि सहकारी संस्थाले रैथाने जातका मात्रै ६३ प्रकारका धान प्रदर्शन गरेको थियो । 

यस्तै, ६ जातका कागुनोसमेत प्रदर्शनीमा राखिएको थियो । मेलामा वनतरुल, भीरमह, अमला, कागती, सुन्तला, रायोलगायत विभिन्न सागसब्जी, काउली, अकबरेलगायत खुर्सानी, मुला, केरा, फर्सी, कफीजस्ता फलफूल तथा तरकारी बालीले दर्शकको ध्यान तानेका थिए । पशुजन्यतर्फ भाले, भैंसी, बोका तथा माछासमेत प्रदर्शनीमा राखिएको थियो ।

Exhibition of 59 agricultural and livestock products in Marsyangdi

कार्यक्रममा कृषि विकास कार्यालयले कृषि शिविर सञ्चालन गरेको थियो । साथै ग्रामीण तालिम केन्द्र सिम्पानीका प्रशिक्षार्थीले उत्पादन गरेका उत्पादन गरेका हस्तकला तथा ग्रामीण भेगमा उत्पादित हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा प्रयोग गरिएको थियो । प्रदर्शनी हेर्न मर्स्याङ्दी गाउँपालिका, बेंसीसहर नगरपालिकाबाट दर्शक आएका थिए । खुदीस्थित अमर मावि र हिमचुली अंग्रेजी स्कुलका विद्यार्थीले समेत अवलोकन गरेका थिए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कृषि र कृषिजन्य उत्पादनलाई बढावा दिन मेला प्रदर्शनी आयोजना गरिएको बताए । ‘कृषक तथा उनीहरूले उत्पादन गरेका उपजलाई सहयोग गर्नुका साथै नयाँ कृषि प्रविधिको प्रदर्शन, अनुशरण र विस्तारमा सहजीकरण गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने, ‘कृषकले आफ्ना उत्पादन सार्वजनिक रुपमा प्रदर्शन गर्दा आत्मबल बढ्ने हाम्रो ठम्याइ छ ।’

कृषकलाई थप प्रेरित गर्न प्रदर्शनीमा राखिएका कृषि तथा पशुजन्य उत्पादनबीच प्रतिस्पर्धासमेत गराइएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार विभिन्न विधामा वर्गीकरण गरी उत्कृष्ट उत्पादनलाई पुरस्कारसमेत प्रदान गरिएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully