माघ २० गतेभित्र हातहतियार बुझाउन लमजुङ प्रशासनको अनुरोध

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

माघ ६, २०८२

आश गुरुङ

Lamjung administration requests to surrender weapons by Magh 20

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतियार (बन्दुक) बुझाउन नागरिकलाई अनुरोध गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले चैत २० गतेपछि हातहतियार फिर्ता हुनेछ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन माघ २० गतेअगावै सबैखाले हतियार बुझाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङअन्तर्गत जिल्ला कमाण्ड पोष्टको माघ ६ गते बसेको बैठकको निर्णयअनुसार सबै इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र सम्बन्धित स्थानीय प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिइएको छ । आफूसँग भएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा नबुझाए कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार बढी दर्तावाला हातहतियार (बन्दुक) छन् । यीमध्ये कमैले नवीकरण गरेका छन् । अधिकांश नवीकरण भएका छैनन् । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully