कास्की–२ मा एमालेको उम्मेदवार फेरबदल, थापाको स्थानमा आचार्यलाई टिकट

२०७९ मा पोखरा महानगरपालिकाको प्रमुख पदको निर्वाचनमा पराजित भएका थापाले त्यसबेला आफू चुनावी प्रतिस्पर्धामा नउत्रने घोषणा गरेका थिए।

माघ ५, २०८२

दीपक परियार

UML candidate reshuffle in Kaski-2, Acharya gets ticket in place of Thapa

पोखरा — एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ। शनिबार जिल्ला इन्चार्ज कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पार्टीभित्र र सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि उनको स्थानमा रश्मी आचार्यलाई अघि सारेको हो।

पार्टी स्रोतका अनुसार थापाको उम्मेदवारीलाई लिएर स्थानीय कार्यकर्ता र शुभचिन्तकमा व्यापक असन्तुष्टि देखिएपछि नेतृत्वले निर्णय पुनर्विचार गरेको हो। २०७९ मा पोखरा महानगरपालिकाको प्रमुख पदको निर्वाचनमा पराजित भएका थापाले त्यसबेला आफू चुनावी प्रतिस्पर्धामा नउत्रने घोषणा गरेका थिए। आफ्नो पुरानो प्रतिबद्धता विपरीत पुनः टिकट लिएको भन्दै उनको आलोचना भइरहेको थियो।

नयाँ उम्मेदवारका रूपमा चर्चामा आएका रश्मी आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। आचार्यले टिकटको आधिकारिक पत्र पाउन बाँकी रहेको बताएका छन्।

एमालेका पुराना नेता थापा यसअघि पोखरा उपमहानगरका मेयर र गण्डकी प्रदेश सभा सदस्य भइसकेका व्यक्तित्व हुन्। अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरको टिकट पाउँदा उनले यसलाई आफ्नो ‘अन्तिम चुनाव’ भनेका थिए। सोही कारण पनि उनलाई फेरि उम्मेदवार बनाउँदा पार्टीलाई क्षति पुग्ने भन्दै युवा नेताहरूले दबाब बढाएका थिए।

खासगरी जेन–जीको बढ्दो राजनीतिक सचेतना र परिवर्तनको चाहनालाई पार्टीले सम्बोधन गर्नुपर्ने माग उठिरहेको समयमा पुरानै अनुहार दोहोर्‍याउँदा परिणाम प्रतिकूल आउन सक्ने चिन्ता कार्यकर्ताले व्यक्त गरेका थिए। उक्त क्षेत्रमा यसअघि रवीन्द्र अधिकारीले तीनपल्ट चुनाव जितेका थिए। उनको निधनपछिको उपनिर्वाचन र २०७९ को निर्वाचनमा विद्या भट्टराईले चुनाव जितेकी थिइन्।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully