लमजुङमा हरिजङ तामाङलाई नेकपाको टिकट

पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले आइतबार उनलाई उम्मेदवारको टिकट निश्चित गरेका हुन्।

माघ ५, २०८२

आश गुरुङ

NCP gives ticket to Harijang Tamang in Lamjung

What you should know

लमजुङ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि लमजुङमा युवा नेता ३६ वर्षीय हरिजङ तामाङलाई उम्मेदवार बनाएको छ।

बेँसीसहर नगरपालिका–१० साँधु म्रोंचे घर भई हाल बेँसीसहर बस्दै आएका उनी पार्टी एकीकरणअघि नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य थिए।

पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले आइतबार उनलाई उम्मेदवारको टिकट निश्चित गरेका हुन्। माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङ उम्मेदवार बन्ने चर्चा रहेको लमजुङमा अन्ततः तामाङलाई टिकट दिइएको हो।

नेकपा लमजुङले गुरुङसहित प्रत्यक्षतर्फ देवप्रसाद गुरुङको नाम अगाडि राखेर थप १२ जनाको नाम सिफारिस गरेको थियो। तत्कालीन कांग्रेस–माओवादी केन्द्रको सत्ता गठबन्धन हुँदा २०७९ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गुरुङ एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए। पार्टी एक्लै चुनाव उठ्दा पराजित हुने डरले देवप्रसाद गुरुङ लमजुङमा उम्मेदवार बन्न नचाहेको स्रोतले बतायो। गुरुङ एमाले–माओवादी केन्द्रको गठबन्धनबाट २०७४ मा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

हरिजङ तामाङ स्थानीय तह निर्वाचन २०७९ मा बेँसीसहर नगरपालिकाको उपप्रमुखमा पराजित भएका थिए। एमालेकी उम्मेदवार पदमा गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर विजयी बन्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार तत्कालीन माओवादी केन्द्रका तामाङले ४ हजार ६ सय ९९ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले १ हजार ६ सय १५ मत ल्याएका थिए।

नागरिकता अनुसार २०४७ भदौ २८ गते जन्मिएका तामाङ राजनीतिक शास्त्रमा एमफिल–पीएचडी स्कलर हुन्। उनले कानुन विषयमा स्नातक पनि गरेका छन्। बाबु लालचन्द्र तामाङ र आमा जोगमाया तामाङका माइँलो छोरा उनी २२ वर्षको उमेरमा गाउँकै बुद्धि विकास प्रावि व्यवस्थापन समितिको अध्यक्ष बनेका थिए। उनी केही महिना अघिसम्म (२०७९ देखि २०८२) प्रदेश अस्पताल लमजुङको व्यवस्थापन समितिको अध्यक्ष थिए।

२०७५ मा नेपाल तामाङ घेदुङको गण्डकी प्रदेश अध्यक्ष, २०७६ मा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिको अध्यक्ष बने। उनी २०६८ देखि २०७१ सम्म जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षसमेत भएका थिए।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully