राजनीतिभन्दा विकासमा चासो राख्ने उनलाई आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) ले मनाङबाट उम्मेदवार बनाएको छ । उनी हाल पार्टीको मनाङ अध्यक्ष हुन् ।
What you should know
लमजुङ — पोल्देन छोपाङ गुरुङ भन्नेबित्तिकै हिमाली जिल्ला मनाङ पुग्नेले भ्राताङको स्याउबारी सम्झिन्छन् । उनी काठमाडौंको ठमेलस्थित सानदार पर्यटकीय होटल बिक्री गरी आफ्नै गाउँमा स्याउ फलाउन एक दशकअघि मनाङ फर्केका हुन् ।
राजनीतिभन्दा विकासमा चासो राख्ने उनलाई आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) ले मनाङबाट उम्मेदवार बनाएको छ । उनी हाल पार्टीको मनाङ अध्यक्ष हुन् ।
एमालेले उनलाई मनाङका लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको यो तेस्रोपटक हो । २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई हराउँदै सिंहदरबारको यात्रा तय गरेका थिए । उनी राजनीतिमा सक्रिय हुन थालेसँगै स्याउको जिम्मा छोरा समराज र युवराजलाई सुम्पेका थिए ।
त्यतिबेला टेकबहादुरलाई २ सय ७९ मतले पछि पारेका पोल्देन छोपाङ २०७९ को निर्वाचनमा भने टेकबहादुरभन्दा ३ सय २८ मतले पछि परे । २०७४ मा पोल्देन छोपाङ २ हजार ३ सय मतका साथ विजयी भएका थिए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका थिए । २०७९ मा टेकबहादुरले २ हजार ५ सय ७५ मत प्राप्त गरे । पोल्देन छोपाङ गुरुङ २ हजार २ सय ४७ मतमै रोकिए ।
मनाङ ङिस्याङ गाउँपालिका-८, टंकी मनाङ घर रहेका पोल्देन छोपाङले वडा नं. १ को भ्राताङमा फार्म बनाएर बर्णशंकर (हाइब्रिड) जातका स्याउ खेती गरेका छन् । उनले कूल ७ सय ३५ रोपनी जग्गामा स्याउ खेती लगाउनुका साथै पर्यटकीय संरचना निर्माण गरेका छन् ।
मनाङमा २०५६ सालको आमनिर्वाचनमा कांग्रेसका पाल्देन गुरुङ निर्विरोध भएको रेकर्ड छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका देवप्रसाद गुरुङ विजयी भएका थिए । २०४८, २०५१ र २०५६ को चुनावमा एमालेले मनाङमा उम्मेदवारसमेत पाएनन् ।
काठमाडौंमा प्रजेन्द्र मेमोरियल स्कुलमा कक्षा ८ पढेपछि दार्जिलिङ गएका पोल्देनले एसएलसी पास गरेपछि त्रि-चन्द्र क्याम्पसमा आइएससी थाले । पढाई छाडेर उनी पर्यटन तथा होटल व्यवसायमा लागे । व्यावसायिक रुपमा अघि बढेका उनी एक दशकअघिमात्रै एमालेमा प्रवेश गरेका थिए । उनलाई एमालेमा प्रवेश गराउनुमा उनका भाइ पूर्वविमानचालक त्रिपल पी गुरुङको योगदान मानिन्छ ।
