लमजुङमा अटो दुर्घटना हुँदा ७ जना घाइते

आइतबार दिउँसो सुन्दरबजारबाट मानेचौकातर्फ जाँदै गर्दा अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

माघ ४, २०८२

आश गुरुङ

7 injured in auto accident in Lamjung

लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका–६ र तनहुँको भानु नगरपालिका–११ मानेचौका जोड्ने पक्की पुलमा अटो दुर्घटना हुँदा २ जना बालकसहित ७ जना घाइते भएका छन् ।

ग १ ह ६० नम्बरको अटो आइतबार दिउँसो सुन्दरबजारबाट मानेचौकातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँको भानु नगरपालिका–११ रुपाकोटका ५० वर्षीया सावित्री विक, ७ वर्षीय दिप्सन विक, ३९ वर्षीया सरस्वती विक र २७ वर्षीय सुनिल विक घाइते भएका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका–२ की ४९ वर्षीया लक्ष्मी विक, कास्कीको रुपा गाउँपालिका–६ का २ वर्षीय प्रभात गुरुङ र ३६ वर्षीया जुना गुरुङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज रिफर गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार सबै घाइतेको टाउकोमा चोट लागेको छ । चालक सुनिल विकको सामान्य उपचार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले दुर्घटनामा परेका ७ जनामध्ये अटो चालक सुनिल विकलाई सामान्य चोट लागेको र प्राथमिक उपचारपछि नियन्त्रणमा लिइएको जानकारी दिए । अन्य ६ जनालाई सिटी स्क्यानसहित थप उपचारका लागि चितवन पठाइएको उनले बताए ।

प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेर तीव्र गतिमा अटो चलाइएकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully