गत पुस २२ गते रास्वपा लमजुङले पार्टीका संस्थापक जिल्ला सभापति तथा केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसीको नाम मात्र सिफारिस गरेको थियो ।
What you should know
लमजुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसअघि गरेको एकल सिफारिस सच्याउँदै तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
गत पुस २२ गते रास्वपा लमजुङले पार्टीका संस्थापक जिल्ला सभापति तथा केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसीको नाम मात्र सिफारिस गरेको थियो । तर पार्टीभित्र र बाहिर विवाद उत्पन्न हुनुका साथै अनलाइनमार्फत थप दुई जनाले उम्मेदवारी दाबी गरेपछि जिल्ला समितिले तीनै जनाको मूल्याङ्कन फारम भरेर केन्द्रमा पठाएको हो ।
जिल्ला संयोजक अशोक सापकोटाका अनुसार सुरुमा केसीको नाम एकल सिफारिस गरिएको भए पनि अनलाइनमार्फत थप दुई जनाले दाबी गरेपछि प्रदेश समितिबाट प्राप्त मूल्याङ्कन फारम भरेर सिफारिस पठाएको हो । ‘हामीले पहिला एकल सिफारिस गरेका थियौं, पछि दुई जनाले अनलाइनबाट दाबी गर्नुभएको रहेछ,’ सापकोटाले भने, ‘बैठक बसेर तीनै जनाको मूल्याङ्कन फारम भरेर केन्द्रमा पठाएका छौं । यसलाई एक प्रकारको सिफारिस नै हो भनेर बुझ्दा भयो ।’
लमजुङ हेर्ने जिम्मेवारी पाएका प्रदेश समितिका सचिवालय सदस्य सूर्यमणी अधिकारीको उपस्थितिमा केही दिनअघि बसेको बैठकले केसीसँगै प्रवास विभागका सचिव पदमराज पन्थी र उज्यालो नेपाल पार्टीबाट समाहित भएर आएका निर्देश सिलवालको नाम सिफारिस गरेको हो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य रहेका सिलवाल कुलमान घिसिङ छुट्टिए पनि रास्वपामै बसेका हुन् ।
केसीको एकल सिफारिसपछि पन्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जिल्लाको सिफारिस भन्दै नाम सिफारिस गरिएको भनाइ पूर्णतः गलत’ भनी असन्तुष्टि जनाएका थिए । सिलवालले भने सार्वजनिक प्रतिक्रिया नदिए पनि चुनावकेन्द्रित गतिविधिमा सक्रिय रहेका छन् ।
रास्वपाका अनुसार पहिलो नम्बरमा केसी, दोस्रोमा पन्थी र तेस्रोमा सिलवालको नाम राखेर केन्द्रमा सिफारिस गरिएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट नेकपा (एमाले) का तत्कालीन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए ।
