‘पुल निर्माणको ठेकेदार कम्पनीले चीनमा यन्त्र खरिद गरेर आए पनि रसुवा भन्सार नाकामा अड्किएका कारण काममा केही ढिलाइ भएको हो, सामान आउनासाथ काम अघि बढ्छ,’ सडक डिभिजन भरतपुरका प्रमुख नारायण लामिछानेले भने ।
नवलपरासी — पुलको भारवहन क्षमता मापन गर्ने यन्त्र रसुवाको केरुङ भन्सारमा रोकिएका कारण नारायणी नदीमा निर्माण गर्ने भनिएको सिग्नेचर ब्रिजको काम अघि बढ्न सकेको छैन ।
सडक डिभिजन भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार चीनबाट ल्याउनु पर्ने मेसिन रसुवा भन्सार नाकामा रोकिएका कारण फिल्डमा देखिने गरी पुल निर्माणको काम धमाधम हुन नसकेको हो ।
‘पुल निर्माणको ठेकेदार कम्पनीले चीनमा यन्त्र खरिद गरेर आए पनि रसुवा भन्सार नाकामा अड्किएका कारण काममा केही ढिलाइ भएको हो, सामान आउनासाथ काम अघि बढ्छ,’ लामिछानेले भने ।
ठेकेदार कम्पनीले चाइनाबाट खरिद गरेर मगाएको ओस्पाल मेसिन भन्सारमा रोकिएको दुई साता भइसकेको छ । नारायणी नदीमा ठड्याइने दुईवटा खम्बामध्ये एउटा खम्बाको पिँधमा त्यो भारवहन मापन यन्त्र राख्न पर्छ । हाल पुलमा प्रयोग हुने खम्बाको रड बुन्ने काम भइरहेको छ ।
नारायणीमा निर्माण हुने पुलको ठेकेदार कम्पनी तुंदी कन्सट्रक्सन प्रालिका इन्जिनियर मंजिल मिश्रले केरुङ भन्सरबाट त्यो सामान पुल निमार्णस्थलमा आउनासाथ काम सुरु हुने दाबी गरे । ‘अबको एक सातामा रोकिएका ती सामान नारायणी पुल निर्माण स्थलमा आइपुग्छन् र चिनियाँ प्राविधिक आएर त्यसको जडान गरेपछि काम सुरु हुन्छ,’ मिश्रले भने ।
१ अर्ब ६८ करोडको लागतमा नारायणी नदीमा निर्माण गर्न लागिएको पुल कर्णाली पुलको झल्को दिने खालको अत्याधुनिक हुनेछ ।
