कावासोती-३ को १ सय ८६ बिघा जमिनमा नमुना सदरमुकामको निर्माण कार्य अघि बढिरहेको छ ।
नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा निर्माण भैरहेको नमुना सदरमुकाममा चलनचल्तीको पुरानो सडक नै बन्द गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । सोमबार स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेलाई यसबारेमा ध्यानाकर्षण गराउँदै ज्ञापन-पत्र बुझाएका छन् ।
स्थानीयको आवागमन बन्द गर्ने गरी कम्पाउन्ड वाल निर्माण गर्न लागेको भन्दै कावासोती-३ पुरानो बजारका स्थानीय विरोधमा उत्रिएका हुन् । स्थानीयको ध्यानाकर्षण-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले समस्या समाधानका लागि पहल गर्ने बताए ।
सदरमुकामको डीपीआर तयार गर्दा नै स्थानीयले पचासौं वर्षदेखि प्रयोग गर्दै आएको पुरानो कावासोती- हँसौरा जोड्ने सडक बन्द गरेर योजना अगाडि बढाइएकामा सडक बन्द नहुने गरेर काम गर्नुपर्ने स्थानीय चन्द्रकला वाग्लेले बताइन् । आफ्ना माग बेवास्ता गरे प्रतिरोध उत्रिने चेतावनी पनि स्थानीयले दिएको उनले सुनाइन् ।
यसअघि स्थानीयले भेला गरी सो निर्णयसहित कावासोती नगरपालिकाको लिखित सिफारिस संलग्न गरी सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुर, चितवनमा डेलिगेसन गई मूल बाटोमा सदरमुकाम प्रवेश द्वार (गेट) निर्माण गरिदिन अनुरोध गरेका थिए ।
कावासोती नगरपालिका-३ को १ सय ८६ बिघा जमिनमा नमुना सदरमुकामको निर्माण कार्य अघि बढिरहेको छ।
