राप्रपा उपाध्यक्ष हेमजङ चुनाव लड्न अनिच्छुक

यसअघि लमजुङमा प्रत्यक्ष निर्वाचनमा भाग लिइसकेको भन्दै उनले यसपटक चुनाव लड्न इच्छा नभएको संकेत गरे । ‘पहिले त फागुन २१ मा चुनाव हुन्छ या हुँदैन, के चुनाव लड्नु खै !,’ उनले भने ।

पुस २७, २०८२

आश गुरुङ

RPP Vice President Hemjung reluctant to contest elections

What you should know

लमजुङ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय उपाध्यक्ष हेमजङ गुरुङ फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न अनिच्छुक देखिएका छन् । उनले गृहजिल्लाबाट उम्मेदवार बन्न अनिच्छा देखिएका हुन् ।

यसअघि प्रत्यक्षतर्फ चुनाव लडेका उनी यसपटक समानुपातिकमा बस्न रुचाए पनि पहिलो नम्बरमा नपरेपछि समानुपातिक सूचीबाट पनि बाहिरिएका छन् ।

लमजुङबाट दाबी गर्दा उनी पहिलो वा एकल सिफारिस हुने सम्भावना रहे पनि उनले प्रत्यक्ष चुनाव लड्न अनिच्छुक देखाएपछि राप्रपाले उनको नाम सिफारिस गरेको छैन ।

पार्टी धरातल कमजोर हुँदा उनको आफ्नै गृहजिल्लाबाट प्रत्यक्ष निर्वाचनमा भाग लिन अनिच्छुक देखिएको राप्रपा स्रोत बताउँछ । उपाध्यक्ष गुरुङले जनजाति कोटातर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा नपरेपछि सूचीमा नबसेको बताए । ‘पहिले पनि दुई नम्बरमा बसेको हो । अहिले पनि दुई नम्बरमा बस्दिनँ भन्दाभन्दै त्यहीँ नाम राखेपछि म बसिनँ,’ उनले भने ।

यसअघि लमजुङमा प्रत्यक्ष निर्वाचनमा भाग लिइसकेको भन्दै उनले यसपटक चुनाव लड्न इच्छा नभएको संकेत गरे । ‘पहिले त फागुन २१ मा चुनाव हुन्छ या हुँदैन, के चुनाव लड्नु खै !,’ उनले भने ।

समानुपातिक सूचीमा जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा परेका हेमजङ अनिच्छुक बनेपछि चौथोमा रहेका प्रवक्ता मोहन श्रेष्ठ तेस्रो नम्बरमा उक्लिएका छन् । दोस्रोमा राजेन्द्र गुरुङ उक्लिएका छन् । पहिलो नम्बरमा तोरणबहादुर गुरुङ छन् ।

हेमजङ जिल्ला विकास समितिका पूर्वसभापति, बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष र बेंसीसहर नगर विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन् ।

राप्रपा लमजुङका अध्यक्ष केवेन्द्रजङ गुरुङ लमजुङले हेमजङलाई नचिन्दा उनले विजयी प्राप्त गर्न नसकेको बताउँछन् । चुनाव नै हुने स्थिति भएमा हेमजङ काठमाडौंबाट उठ्ने दाबी उनले गरे । तर, हेमजङले भने अहिले केही भन्न नसकिने बताए ।

राप्रपाले लमजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ जिल्ला कार्यसमितिका सचिव मेघराज गुरुङ र पूर्वअध्यक्ष इन्द्रबहादुर मल्ललाई सिफारिस गरेको छ । समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य शोभा रानामगरलाई सिफारिस गरेको छ । प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरे पनि मेघराज गुरुङलाई टुङ्ग्याइने राप्रपा स्रोतले बताएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully