तनहुँमा तीन शव फेला, एकजनाको सनाखत

मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

पुस २६, २०८२

रासस

Three bodies found in Tanahun, one identified

What you should know

तनहुँ — तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा शनिबार तीन वटा शव फेला परेका छन् । बिहान शुक्लागण्डकी–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो ।

मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार विक सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन् । 

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै टहरा बनाएर बस्नेमध्ये एक जना पुरुषको शव फेला परेको थियो । 

'सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा दिउँसो १२ बजेतिर दुई पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७०० मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जङ्गलमा महिलाको पनि शव फेला परेको हो', प्रहरी नायब उपरीक्षक विकले भने ।

शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले शवको प्रकृति अत्यन्तै बीभत्स अवस्थामा रहको बताए । उनका अनुसार मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छभने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । 

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा एक टोली र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ । शवपरीक्षणका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ । घटनाले स्थानीय त्रसित बनेका छन् भने प्रहरीले अपराधी उम्कन नपाउने गरी नाकाहरूमा निगरानी बढाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट यो नियोजित हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

रासस

Link copied successfully