विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि स्वर्ण महोत्सवको अवसरमा विद्यालयले करिब ९० लाख रुपैयाँको कोष खडा गरेको हो।
What you should know
लमजुङ — बेंसीसहर नगरपालिका–२, भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण कोषमा करिब ९० लाख रुपैयाँ संकलन भएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि आयोजित स्वर्ण महोत्सवको अवसरमा देश–विदेशका शुभेच्छुकबाट उक्त रकम संकलन भएको विद्यालयले जनाएको छ ।
विद्यालयले बुधबारदेखि शुक्रबारसम्म ३ दिन स्वर्ण महोत्सव आयोजना गरेको थियो । महोत्सवका क्रममा बेंसीसहर नगरपालिका–२ भकुण्डेका विष्णुलाल श्रेष्ठ र उनकी पत्नी दुर्गा श्रेष्ठले सबैभन्दा बढी ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठ स्वर्ण महोत्सवअन्तर्गत गठन गरिएको गैरआवासीय नेपाली सम्पर्क समन्वय उपसमितिका संयोजक हुन् । लामो समय कतारमा रही हाल युएईमा कार्यरत उनी स्वदेश तथा विदेश दुवै क्षेत्रमा सामाजिक सेवामा सक्रिय छन् ।
विद्यालयका संस्थापक तथा आर्थिक संकलन उपसमितिका संयोजक कोषलेन्द्र कँडेलले ५ लाख ५५ हजार ५ सय ५४ रुपैयाँ सहयोग गरेका छन् । महोत्सव संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर रानाले स्वर्ण कोषका लागि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेका छन् । यस्तै, हाल अमेरिकामा रहेका काजीराम थापाले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालका अनुसार तिहारअघि सञ्चालन गरिएको घरदैलो अभियानबाट करिब ७६ लाख रुपैयाँ संकलन भइसकेको थियो । बाँकी रकम स्वर्ण महोत्सवको आसपासमा जुटेको हो । बेंसीसहर नगरपालिकाले स्वर्ण गेट निर्माणका लागि ४ लाख रुपैयाँ र वडा कार्यालयले स्वर्ण महोत्सवका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विद्यालयलाई दीर्घकालीन रुपमा आधुनिक, गुणस्तरीय र अभिभावकको पहिलो रोजाइको शिक्षालयका रुपमा विकास गर्ने उद्देश्यले स्वर्ण कोष स्थापना गरिएको जनाइएको छ । उक्त कोष डिजिटल शिक्षण–सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल, बालउद्यान निर्माणलगायत योजनामा खर्च गरिने विद्यालयले जनाएको छ ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयका संस्थापक, जग्गादाता तथा चन्दादातालाई सम्मान गरिएको थियो । विद्यालय स्थापना भएको २०३२ सालमा जग्गा प्रदान गर्ने जग्गादाता, संस्थापक तथा विशेष दातालाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाइ पञ्चेबाजासहित सम्मान गरिएको थियो । कार्यक्रममा बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर रानालगायतले सम्मान गरेका थिए ।
वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयबाट हालसम्म करिब ४ हजार विद्यार्थीले अध्ययन गरिसकेका छन् । तीमध्ये १ हजार २८ जनाले एसईई/एसएलसी उत्तीर्ण गरेका छन् । करिब ३ सय जनाले कक्षा १२ पास गरिसकेका छन् ।
