दुई वर्षमा निर्माण हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न

कावासोती-३ र ४ जोड्ने पुल नहुँदा वर्षौंदेखि स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो।

पुस २५, २०८२

नवीन पौडेल

The bridge that was supposed to be built in two years was completed in seven years.

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।

कावासोती नगरपालिका-३ र ४ जोड्ने पुल नहुँदा वर्षौंदेखि स्थानीयले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो।

२०७५ सालमा निमार्ण सुरु गरेर २०७७ असारसम्म सम्पन्न हुनुपर्ने पुल ठेकेदार पक्षले विभिन्न कारण देखाउँदै काम अलपत्र पार्दै आएको थियो। दुई पटकसम्म म्याद थप गरेर र स्थानीयले चर्को दबाब दिएपछि बल्ल पुल निर्माणले तिव्रता लिएको थियो । 

१० करोडको लागतमा १ सय ४० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएपछि कावासोती-३ र ४ मात्र बाहेक हुप्सेकोट गाउँपालिकाका बासिन्दालाई पनि सदरमुकाम कावासोती आउन छिटो र सहज हुने कावासोती–४, का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताए।

पुल नहुँदा वडा ४ र हुप्सेकोटका बासिन्दालाई  प्रशासनिक, बजार, कलेज तथा अन्य कामका लागि वर्षामा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully