गण्डकीमा राष्ट्रिय जनमोर्चाले गर्‍यो राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

जनमोर्चाको तर्फबाट शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटाले मनोनयन दर्ता गरेका हुन् ।

पुस २३, २०८२

दीपक परियार

Rastriya Janamorcha registers candidacy for National Assembly in Gandaki

पोखरा — राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गण्डकीमा उम्मेदवारी दर्ता गरेको छ । जनमोर्चाको तर्फबाट शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटाले मनोनयन दर्ता गरेका हुन् ।

गण्डकीमा अन्यतर्फ तत्कालीन माओवादीका नारायणकाजी श्रेष्ठ र महिलातर्फ एमालेकी भगवती न्यौपानेको कार्यकाल २० फागुनमा सकिँदै छ  । अन्यतर्फ उम्मेदवार दिएका बराल जनमोर्चाका प्रदेश अध्यक्ष हुन् ।

महिलातर्फकी उम्मेदवार बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन् । अधिवक्ता समेत रहेकी उनी ०७४ मा बागलुङ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष निर्वाचित भएकी थिइन् । बराल र बाँस्कोटाले पार्टीको मत संरक्षण गर्न उम्मेदवारी दिएको बताए । गण्डकीमा जनमोर्चाको दुई पालिका अध्यक्ष र दुई उपाध्यक्षको मत रहेको छ । 

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । गण्डकीमा कांग्रेसबाट तनहुँका जगत तिमिल्सिना र एमालेबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिँदैछन् । तिमिल्सिना कांग्रेस निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन् ।

कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले केन्द्रीय सभापतिको निर्देशनमा तिमिल्सिनालाई उम्मेदवार बनाएको बताए । उनले भने, 'उहाँको नाममा गण्डकीबाट कसैको प्रस्ताव पनि छैन, कसैको सिफारिस पनि छैन । सिधै सभापतिको निर्देशनमा भएको हो ।' 

नेपाली कम्युनिस्ट पार्टीबाट मनाङका कपिल लामा र कास्कीकी गोमा घिमिरेले उम्मेदवारी दिने तयारी छ । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully