गोरखाकी देवकोटाले दिइन् राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी

गण्डकी प्रदेशका ११ जिल्लामध्ये जनाधारको हिसाबले कमजोर मानिने गोरखाबाट एमालेले यस पटक विजयी हुने सुविधासहित देवकोटालाई मौका दिएको हो ।

पुस २३, २०८२

हरिराम उप्रेती

Devkota from Gorkha files candidacy for National Assembly seat

What you should know

गोरखा — कांग्रेस–एमाले गठबन्धनबाट गण्डकी प्रदेशबाट गोरखाकी सम्झना देवकोटाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेकी नेतृ देवकोटा विगतमा मेयर, उपमेयर र राष्ट्रिय सभामा उम्मेदवार बनेर पराजित भएकी थिइन् । 

गण्डकी प्रदेशका ११ जिल्लामध्ये जनाधारको हिसाबले कमजोर मानिने गोरखाबाट एमालेले यस पटक विजयी हुने सुविधासहित देवकोटालाई मौका दिएको हो । 

गोरखा नगरपालिका–३ नारेश्वरकी देवकोटा २०४५ मा अनेरास्ववियुको सदस्यता लिँदै ०४७ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएकी थिइन् । अनेरास्ववियुमा गोरखा क्याम्पसको इकाइमा सक्रिय देवकोटा तत्कालीन नारेश्वर गाविसको गाउँ कमिटी, इलाका नम्बर २ को इलाका कमिटी, क्षेत्रीय संयोजक, क्षेत्रीय कमिटी सदस्य बनिन् । 

०६३ मा एमालेको क्षेत्रीय कमिटी सचिव बनेकी देवकोटा ०६६ सालमा एमाले गोरखाको सचिवमा निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा एमालेमा देशभरका दुई महिला सचिवमध्ये देवकोटा एक थिइन् । ०६८ मा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, अञ्चल कमिटी सदस्य हुँदै ०७८ को दसौं महधिवेशनबाट देवकोटा एमालेको केन्द्रीय सदस्य बनिन् । 

०७९ असारमा केन्द्रीय संगठन विभागको सचिवको जिम्मेवारी लिएर देवकोटाले काम गरिसकेकी छिन् । 

उनै देवकोटा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयर उम्मेदवारी दिए पनि पराजित भइन् । ०७९ को निर्वाचनमा एमालेले देवकोटालाई मेयरको उम्मेदवार बनायो भने ०८० मा राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाएको थियो । तीनवटै चुनावमा देवकोटा पराजित बनिन् । यस पटकको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता छन् । तर देवकोटाको दल एमालेबाट गोरखाका ११ वटा स्थानीय तहको प्रमुख, उपप्रमुख र प्रदेशमा पनि प्रतिनिधित्व छैन । 

कांग्रेससँगको गठबन्धनका कारण उनको जित निश्चित जस्तै बनेको छ । ‘पार्टीको जिम्मेवार कार्यकर्ता हुँ, यसअघिका निर्वाचनमा पार्टीले उम्मेदवार बनाए पनि पराजित हुन्छु भनेर थाह हुँदाहुँदै पनि लडेँ,’ देवकोटाले कान्तिपुरसँग भनिन्,‘अहिले गठबन्धन पनि छ, यो अवसर दिँदा खुसी छु ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully