'ट्रेकिङ गाइड'लाई चरा पहिचान तालिम

पदयात्रामा जाने पर्यटकलाई चराबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यले ३६ जनालाई तालिम दिइएको हो ।

पुस २१, २०८२

रासस

Bird identification training for trekking guides

What you should know

गण्डकी — नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ । 

पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

तालिमका सहभागीलाई नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौँ इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपी श्रेष्ठका साथै पन्छीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रुपमा प्रयोगात्मक तालिम दिएका हुन् । 

आइतबार तालिम समापन समारोहमा सहभागीलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन महत्वपूर्ण पक्ष भएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक केवल चरा मात्रै हेर्न आउने बताउँदै त्यस्ता पर्यटकका लागि यस सम्बन्धमा विज्ञता हासिल गर्नु जरुरी रहेको बताए ।

नेपाल पन्छीवद् समाजका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा काम गर्न चाहनेले त्यससम्बन्धी विज्ञता हासिल गर्न प्रविधिको प्रयोगका साथै यसतर्फको गहिरो लगाव हुनु जरुरी भएको बताए ।

रासस

Link copied successfully