एमालेले चक्रे मिलन, आरसी लामिछाने, अब्दुल मियाँसहित गोरखा–१ बाट ८ र २ बाट ६ जना उम्मेदवारको नाम सिफारिस गरेको हो।
गोरखा — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ र २ को बैठकको सिफारिसका आधारमा जिल्ला कमिटिले शनिबार प्रदेश कमिटिलाई नाम सिफारिस गरेको एमाले जिल्ला सचिव काजीराम रोकाले बताए।
गोरखा १ मा अमिर काजी थापा, आरसी लामिछाने, कृष्णप्रसाद काप्री, चेतबहादुर रोकाहा, विशाल थापा, डा मोदराज वगाले, देवी थापा र लिलानाथ न्यौपानेको नाम सिफारिस गरिएको उनले बताए ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा मिलन गुरुङ (चक्रे मिलन), बाबुराम थापा, शशिकला देवकोटा पोखरेल, अब्दुल सलाम मियाँ, कमल दानी र वसन्त गुरुङको नाम सिफारिस गरिएको छ ।
मियाँ २०७९ को निर्वाचनमा पनि पराजित भएका थिए। विवादित छविका चक्रे मिलनलाई उम्मेदवार सिफारिस गरेपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणी भइरहेका छन्।
निर्वाचन क्षेत्र समन्वय किमिटिको सिफारिसका आधारमा जिल्ला कमिटिले रायसहित प्रदेशलाई नाम सिफारिस गरेको एमालेले जनाएको छ।
प्रदेश कमिटिले सिफारिसपछि उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार भने केन्द्रलाई रहने जिल्ला सचिव रोकाले बताए ।
