लमजुङ एमालेद्वारा पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस

जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टका अनुसार सिफारिस सूचीमा गुरुङसँगै जमीन्द्रमान घले, धनञ्जय दवाडी, कृष्णप्रसाद अधिकारी, भगवती थापा (कल्पना) र लक्ष्मीदेवी अधिकारी रहेका छन् ।

पुस १९, २०८२

आश गुरुङ

Lamjung UML recommends names of 6 people including Prithvi Subba Gurung

लमजुङ — नेकपा (एमाले) जिल्ला कमिटी लमजुङले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ ।

बेंसीसहरस्थित पार्टी कार्यालय मदन–आश्रित स्मृति भवनमा शनिबार बसेको जिल्ला कमिटीको दशौं बैठकले केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टका अनुसार सिफारिस सूचीमा गुरुङसँगै जमीन्द्रमान घले, धनञ्जय दवाडी, कृष्णप्रसाद अधिकारी, भगवती थापा (कल्पना) र लक्ष्मीदेवी अधिकारी रहेका छन् ।

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री तथा पूर्व प्रतिनिधिसभा सदस्य हुन् । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्रीसमेत हुन् । सिफारिसमा परेका जमीन्द्रमान घले, कृष्णप्रसाद अधिकारी र भगवती थापा एमाले केन्द्रीय कमिटी सदस्य हुन् । दवाडी पार्टी गण्डकी प्रदेश कमिटी सचिव तथा लक्ष्मीदेवी अधिकारी प्रदेश कमिटी सचिवालय सदस्य हुन् ।

घले संविधानसभा सदस्य हुन् । लक्ष्मीदेवी अधिकारी बेंसीसहर नगरपालिकाकी पूर्वउपप्रमुख हुन् । दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेशसभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । कृष्णप्रसाद अधिकारी र घले भने २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा क्रमशः लमजुङ प्रदेशसभा (क) र (ख) बाट पराजित भएका थिए ।

जिल्ला कमिटीले पार्टीको संगठनात्मक अवस्था, उम्मेदवारको अनुभव र राजनीतिक योगदानका आधारमा नाम सिफारिस गरिएको जनाएको छ । अन्तिम उम्मेदवार चयन भने केन्द्रीय कमिटीबाट हुने एमालेले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully