टेनिसका प्रदीप बने आर्यशको व्यक्तिगत प्रशिक्षक

उनले दुई वर्षका लागि आर्यशको प्रशिक्षक बन्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पुस १८, २०८२

दीपक परियार

Tennis player Pradeep becomes Aryash's personal trainer

What you should know

पोखरा — टेनिसका नेपाल नम्बर एक खेलाडी प्रदीप खड्का उदीयमान जुनियर खेलाडी आर्यशराज पौडेलको व्यक्तिगत प्रशिक्षकमा अनुबन्धित भएका छन् । उनले दुई वर्षका लागि आर्यशको प्रशिक्षक बन्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । २२ औं माछापुच्छ्रे ओपन टेनिसको समापनमा खड्का र आर्यशको परिवारबीच सम्झौता भएको हो ।

आर्यषका बुवा एवं कास्की जिल्ला टेनिस संघका सचिव भीष्मराज पौडेलले यसरी सम्झौता गरेर व्यक्तिगत प्रशिक्षक नियुक्त गर्ने अभ्यास नेपाली टेनिसमा नौलो भएको बताए । पोखरामा रहेर यू–१२ मा खेल्दै आएका आर्यशको टेनिसमा लगाव भएकाले प्रतिभा निखार्न व्यक्तिगत प्रशिक्षक नियुक्त गरेको उनले सुनाए । प्रदीपले पोखरा नै बसेर टेनिसलाई अगाडि बढाउने आफ्नो चाहनामा यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

जुनियर उमेर समूहबाट आफ्नो यात्रा सुरु गरेका आर्यशले छोटो समयमै विभिन्न स्तरका प्रतिस्पर्धामा निरन्तर पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चसम्म यात्रा गरेका छन् । उनले सन् २०२१ को अक्टोबरमा वीर गणेशमान राष्ट्रिय जुनियर टेनिसको यू–८ विधामा स्वर्ण जितेर आफ्नो पदक यात्रा सुरुआत गरेका थिए । यो सफलताको सिलसिला सन् २०२२ मा पनि जारी रह्यो, जहाँ उनले टिम टेनिस नेपाल र जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) द्वारा आयोजित राष्ट्रिय प्रतियोगिताहरूका यू–८ विधाबाट स्वर्ण पदकहरू थपे । उक्त वर्षको अन्त्यतिर उनी वीर गणेशमान राष्ट्रिय प्रतियोगितामा यू–९ र यू–१० दुवै विधामा दोहोरो स्वर्ण जित्न सफल भए ।

सन् २०२३ आर्यशका लागि निकै उपलब्धिमूलक वर्ष साबित भयो । त्यसमा उनले विभिन्न उमेर समूहमा आफ्नो वर्चस्व कायम राखे । उनले जनवरी र अप्रिल महिनामा भएका मानुश्री/विघ्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता र अन्य राष्ट्रिय स्पर्धाका यू–९ र यू–१० विधामा गरी चार स्वर्ण जिते । 

जुन २०२३ मा सम्पन्न राइजिङ स्टार ओपन टेनिसमा पनि उनले यू–९ र यू–१० दुवैतर्फ स्वर्ण पदक हात पारे । नोभेम्बर २०२३ मा मांसपेसीको चोटका कारण फाइनल खेल खेल्न नसके पनि उनले यू–१० र यू–१२ विधामा रजत पदक प्राप्त गरे । गण्डकी प्रदेशस्तरीय फिस्टेल स्पोटर््स फेस्टमा यू–१० र यू–१२ दुवै समूहमा स्वर्ण पदक जिते ।

सन् २०२४ सम्म आइपुग्दा आर्यशले यू–१२ विधामा आफूलाई स्थापित गरिसकेका थिए । उनले कास्कीमा आयोजित मानुश्री/विघ्नजित राष्ट्रिय प्रतियोगितामा उपाधि जिते भने ललितपुरमा आयोजित जुनियर टेनिस टुरको यू–१२ ब्वाइज विधामा फाइनलसम्म पुगे । एमटीसी जुनियर टेनिसमा उनी यू–१० तर्फ पहिलो र यू–१२ तर्फ दोस्रो भएका थिए । 

हालै सन् २०२५ को जुनमा श्रीलंकाको कोलम्बोमा आयोजित एटीएफ यू–१२ टेनिस च्याम्पियनसिपमा नेपालबाट प्रतिनिधित्व गरेका आर्यशले दोस्रो स्थान हात पारे । पुसमा सम्पन्न २३ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिसमा उनले स्वर्ण जिते । उनका बुवा भीष्मराज पौडेल स्वयं पनि टेनिस खेलाडी हुन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully