समानुपातिक बन्दसूचीमा लमजुङबाट एमालेका २ जना, अरु दलबाट छैन 

एमालेबाहेक कांग्रेस, नेकपा, रास्वपालगायत पार्टीका कुनै पनि दलका उम्मेदवार लमजुङबाट समानुपातिक सूचीमा अटाउन सकेका छैनन् ।

पुस १८, २०८२

आश गुरुङ

2 UML candidates from Lamjung on proportional closed list, none from other parties

लमजुङ — राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट नेकपा (एमाले) का २ जना मात्रै परेका छन् ।

एमालेबाहेक कांग्रेस, नेकपा, रास्वपालगायत पार्टीका कुनै पनि दलका उम्मेदवार लमजुङबाट समानुपातिक सूचीमा अटाउन सकेका छैनन् ।

फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि दलहरुले जिल्लाबाट समानुपातिकतर्फ ठूलो संख्यामा उम्मेदवार सिफारिस गरेका थिए । तर सिफारिस गरिएकामध्ये एमालेबाट महिलातर्फ टुकाभद्र हमाल र जनजाति पुरुषतर्फ प्रेमबहादुर घले मात्रै बन्दसूचीमा समेटिएका हुन् ।

हमाल एमालेकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक तर्फ संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । निर्वाचन आयोगमा एमालेले बुझाएको बन्दसूचीमा उनको नाम महिलातर्फ दोस्रो नम्बरमा छ ।

घले एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हुन् । उनी यसअघि २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूचीमा परेका थिए । तर यसअघि जनप्रतिनिधि भएकै कारण अन्तिम समयमा उनको नाम हटाइएको थियो ।

क्व्होलासोथार गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका घले हाल जनजातितर्फको बन्दसूचीमा ११ औं नम्बरमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनको नेतृत्वमा क्व्होलासोथार गाउँपालिकामा एमालेले ‘क्लिनस्वीप’ गरेको थियो ।

निर्वाच्न आयोगमा १ सय १० जना समानुपातिक सांसदका लागि ६५ राजनीतिक दलबाट ३ हजार ४ सय बढी उम्मेदवारको नामावली बुझाइँदा लमजुङबाट एमालेबाहेक अन्य कुनै पनि दलका उम्मेदवार समानुपातिक सूचीमा समावेश हुन नसकेका हुन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully