चुड्का/कौरालाई विश्व रेकर्डमा कायम गर्न एक हजार जना बढीको सामूहिक नृत्य

एकैस्थलमा एकैपटक एउटै गीतमा हजार जना भन्दा बढीलाई चुड्का नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो ।

पुस १७, २०८२

सम्झना रसाइली

A group dance of over 1,000 people to set a world record for Chudka/Kaura

What you should know

तनहुँ — पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर ऐतिहासिक महत्व र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।

यसमा थप आकर्षण र रेकर्ड थप्नका लागि पुस १५ कम्मर कसेर लागि परेको थियो । गुरुङ, मगर तथा अन्य जनजातिहरुको बाहुल्यता रहेको तनहुँमा चुड्का/कौरा गीत तथा नृत्यको छुट्टै महत्व र आकर्षण रहेको छ ।

समूहमा नाचगान गरिने यही चुड्का/कौरालाई ठूलो समूहमा नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुरका बासिन्दा तथा यहाँका पर्यटन व्यवसायीहरु कम्मर कसेर लागि परेका थिए । 

तनहुँको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको चुड्का/कौरा नृत्य गर्नका लागि बन्दीपुरको टुँडीखेलमा युवायुवतीहरु जातीय पहिचान झल्कने भेषभूषामा सजिएर उपस्थित भएका थिए । ‘कहाँ नानी घर तिम्रो, कहाँ तिम्रो मामाली, नानी त रहिछ्यौ हाम्रै दामाली ......’, ‘सोह्रवर्षे उमेरैमा मैपनि झिल्के हुँदो हो......’ बोलको चुड्का गीत बजेसँगै टुँडिखलेको चौरमा एक हजार जना भन्दा बढी युवायुवतीले एकैपटक सामूहिक नृत्य प्रस्तुत गरे ।

एकैस्थलमा एकैपटक एउटै गीतमा हजार जना भन्दा बढीलाई चुड्का नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो । लक्ष्य अनुसार कार्यक्रम सम्पन्न भएको बृहत चुड्का नृत्य कार्यक्रमका संयोजक एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

संयोजक गुरुङले भने, ‘तनहुँका विभिन्न क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय युवायुवती, किशोरकिशोरीहरुको सहभागितामा तनहुँको पहिचान झल्कने चुड्का गीतमा सामूहिक रुपमा नृत्य प्रस्तुत गरिएको छ ।’

तनहुँको कला, संस्कृति प्रवर्द्धनका साथै बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए । उनले भने, ‘तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नृत्य पस्तुत गरेको यस कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धन हुनुका साथै कला, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’

यस्तै, बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइएको छ । पहिलो दिन चुड्का नचाइएको थियो भने दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन विशेष कार्यक्रम गरियो । 

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताए । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अब सन् २०२६ का लागि पनि विशेष कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सन् २०२६ लाई सहासिक पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिएको छ ।

त्यस्तै पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरिएको छ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।

बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यतिबेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताए ।

बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा रहेका सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेटवाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडी बढेको अध्यक्ष थापाले बताए ।

उनले भने, ‘यहाँ निर्माणाधीन पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौं । यसले बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित विश्वास छ ।’ अध्यक्ष थापाका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल बन्दीपुर आउने पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्ने गरेको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully