एकैस्थलमा एकैपटक एउटै गीतमा हजार जना भन्दा बढीलाई चुड्का नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो ।
What you should know
तनहुँ — पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर ऐतिहासिक महत्व र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ ।
यसमा थप आकर्षण र रेकर्ड थप्नका लागि पुस १५ कम्मर कसेर लागि परेको थियो । गुरुङ, मगर तथा अन्य जनजातिहरुको बाहुल्यता रहेको तनहुँमा चुड्का/कौरा गीत तथा नृत्यको छुट्टै महत्व र आकर्षण रहेको छ ।
समूहमा नाचगान गरिने यही चुड्का/कौरालाई ठूलो समूहमा नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुरका बासिन्दा तथा यहाँका पर्यटन व्यवसायीहरु कम्मर कसेर लागि परेका थिए ।
तनहुँको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको चुड्का/कौरा नृत्य गर्नका लागि बन्दीपुरको टुँडीखेलमा युवायुवतीहरु जातीय पहिचान झल्कने भेषभूषामा सजिएर उपस्थित भएका थिए । ‘कहाँ नानी घर तिम्रो, कहाँ तिम्रो मामाली, नानी त रहिछ्यौ हाम्रै दामाली ......’, ‘सोह्रवर्षे उमेरैमा मैपनि झिल्के हुँदो हो......’ बोलको चुड्का गीत बजेसँगै टुँडिखलेको चौरमा एक हजार जना भन्दा बढी युवायुवतीले एकैपटक सामूहिक नृत्य प्रस्तुत गरे ।
एकैस्थलमा एकैपटक एउटै गीतमा हजार जना भन्दा बढीलाई चुड्का नचाएर विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको थियो । लक्ष्य अनुसार कार्यक्रम सम्पन्न भएको बृहत चुड्का नृत्य कार्यक्रमका संयोजक एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।
संयोजक गुरुङले भने, ‘तनहुँका विभिन्न क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय युवायुवती, किशोरकिशोरीहरुको सहभागितामा तनहुँको पहिचान झल्कने चुड्का गीतमा सामूहिक रुपमा नृत्य प्रस्तुत गरिएको छ ।’
तनहुँको कला, संस्कृति प्रवर्द्धनका साथै बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए । उनले भने, ‘तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नृत्य पस्तुत गरेको यस कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धन हुनुका साथै कला, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’
यस्तै, बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइएको छ । पहिलो दिन चुड्का नचाइएको थियो भने दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन विशेष कार्यक्रम गरियो ।
बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताए । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अब सन् २०२६ का लागि पनि विशेष कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सन् २०२६ लाई सहासिक पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिएको छ ।
त्यस्तै पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरिएको छ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।
बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यतिबेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताए ।
बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा रहेका सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेटवाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडी बढेको अध्यक्ष थापाले बताए ।
उनले भने, ‘यहाँ निर्माणाधीन पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौं । यसले बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित विश्वास छ ।’ अध्यक्ष थापाका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल बन्दीपुर आउने पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्ने गरेको छ ।
