गोरखाबाट समानुपातिक उम्मेदवार बनेकाहरु को–को हुन् ?
गोरखा — फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । दलहरुले बझाएको बन्दसूचीमा गोरखाका नयाँ अनुहार समानुपातिक उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीमा जगतबहादुर बरामको नाम समावेश छ । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । भीमसेन थापा गाउँपालिका–१ मसेलका बराम कांग्रेस निकट लोकतान्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री पनि हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट कमला नहर्की समानुपातिक उम्मेदवार बनेकी छिन् । उनी तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको क्रममा २०५७ सालमा जेल ब्रेक गरेर चर्चामा आएकी थिइन् । २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर–२ को ‘क’ प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव लडेपछि उनी पराजित बनिन् । जनमुक्ति सेनाको बटालियन कमिसार र ब्रिगेड कमान्डरसमेत बनेकी उनी हाल नेकपाको केन्द्रीय सदस्य हुन् । नेकपा एमालेको तर्फबाट आरुघाट–१० की मिना बराम समानुपातिक उम्मेदवार बनेकी छन् । आरुघाट–१० की उनी २०७४ को स्थानीय तह निर्वाचनमा पालिका उपाध्यक्षमा उम्मेदवार बनेर पराजित बनेकी थिइन् । उनी नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्य एलिजा गुरुङ समानुपातिक उम्मेदवार बनेकी छन् । धार्चे गाउँपालिकाकी गुरुङलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको हो । राप्रपाका मोहनबहादुर थापा पनि समानुपातिक उम्मेदवार बनेका छन् । भीसमेन थापा गाउँपालिकाका उनी राप्रपाका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख हुन् ।
