मुक्तिनाथ-तेताङ सडक विस्तारले स्थानीयको यात्रा सहज बनाउँदै

३९ प्रतिशत भौतिक तथा २८.५८ प्रतिशत वित्तीय प्रगति पुगेको सडकले छुसाङ, झोङ, पुडाक र तेताङ गाउँका बासिन्दालाई यातायातमा ठूलो सहजता ल्याउनेछ ।

पुस १५, २०८२

रासस

Muktinath-Tetang road expansion makes travel easier for locals

What you should know

मुस्ताङ — प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ । 

चालु आवको पाँच महिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्‍याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ पुराङ  हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो ।

मुक्तिनाथ–तेताङ जोड्ने ६ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न ७ करोड एक लाख ५६ हजार लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ ।

मुक्तिनाथ–तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये  ६.५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार यहाँ सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्‍याएकाले उक्त स्थानमा सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ ।

वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्नेगरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सबइन्जिनियर जोशीले बताए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले दुई करोड ५६ हजार भुक्तानी लगिसकेको छ ।

प्रदेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ–तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु पर्दैन । छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दुरीमा छोटिने बताइएको छ ।

यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।

रासस

Link copied successfully