मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले तन्तु प्रजनन प्रविधिबाट हाइब्रिड स्याउ बिरुवा उत्पादन गर्न थालेको हो ।
What you should know
मुस्ताङ — घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड एम नाइन रुट स्टक’ जातका बिरुवा उत्पादन सुरु गरेको छ ।
केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रसारण गरिएको हाइब्रिड स्याउको बिउ छरेर यहाँ उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो । हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाइब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो ।
यस प्रकारको हाइब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिएको भए पनि यहाँको केन्द्रको तुलनामा प्रसारण र विकास गर्न नसकेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिए ।
घरपझोङ—२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाइब्रिड स्याउको प्रविधि प्रसारणतर्फ काम गर्दै आइरहेको उनको भनाइ छ ।
करिब ६ हजार हाइब्रिड एम नाइन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले बताए । केन्द्रले २०८०/८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन गरिसकेको छ । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको उनले बताए ।
'केन्द्रमा पर्याप्त मात्रामा सिसा घर भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाइब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना छ,' उनले भने ।
यसवर्षको दोस्रो फेजमा यहाँ जेठबाट बिरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बिउ उत्पादन गरी रोपण गर्न थालिएको हो । मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाइ, मध्यम उचाइ र न्यून उचाइको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाइन रुट स्टक बिरुवामा गाला, फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको छ । त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बूले बताए ।
मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ ।
