नौ महिनाअघि निर्माण सुरु भएको ट्रमा सेन्टरको ठेक्का लिएको निर्माण कम्पनी बीबीएस जेभी भरतपुरले भवनको डिपिसी गर्दागर्दै काम छाडेका कारण निर्माण अलपत्र परेको हो ।
नवलपरासी — देवचुली नगरपालिकामा १० करोड ३१ लाख लागतमा निर्माण भइरहेको ट्रमा सेन्टर (अस्पताल) को काम अलपत्र परेको छ ।
नौ महिनाअघि निर्माण सुरु भएको ट्रमा सेन्टरको ठेक्का लिएको निर्माण कम्पनी बीबीएस जेभी भरतपुरले भवनको डिपिसी गर्दागर्दै काम छाडेका कारण निर्माण अलपत्र परेको हो ।
दुई तले भवनमा डिपिसीको बिमका लागि बुनिएका रडमा फर्मा बाँधेर ढलान नै नगरी अलपत्र छाडिएको छ । डिपिसी पनि नभ्याउँदै काम छाडेका कारण डण्डीमा खिया लागिसकेको स्थानीय अमृत तमाङले बताए ।
यो भवन निर्माणको काम हेर्ने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका प्रमुख कृष्ण मर्हजनका अनुसार ठेकेदारले रड राख्दा केही नमिलेका कारण काम रोकिएको जानकारी दिए । ‘म कार्यालयमा नयाँ आएको हो । त्यहाँ साइड हेर्ने ईन्जिनियर पनि नयाँ आउनुभएको छ अब काम सुरु होला,’ मर्हजनले भने ।
देवचुली–१७ झराही खोलानजिकै नौ महिनाअघि अढाइ तले ट्रमा सेन्टरको काम सुरु भएको हो । ०८३ पुसमा निर्माण सकेर यो भवन हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । कम्पाउण्डसहित निर्माण सुरु भएको भवनमा ट्रमा सेन्टरको सेवा दिइने लक्ष्य छ ।
