पृथ्वीनारायण गोल्डकप फुटबल माघ २४ बाट

जिल्ला खेलकुद विकास समितिको आयोजनामा पृथ्वीनारायण शाहको स्मृतिमा गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

पुस १२, २०८२

हरिराम उप्रेती

Prithvi Narayan Gold Cup Football from Magh 24

गोरखा — आगामी माघ २४ गतेदेखि फागुन २ सम्म गोरखामा ‘प्रथम पृथ्वीनारायण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा पृथ्वीनारायण शाहको स्मृतिमा गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलकुद मैदानमा हुने प्रतियोगितामा ८ टिमको सहभागीता रहने छ । नेपालका ‘ए’ डिभिजन क्लबहरु, मोफसलका प्रतिष्ठित क्लबहरु र आयोजक १ टिमको सहभागीता रहने जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।  

प्रतियोगिताको विजेता टिमलाई ८ लाख नगदको व्यवस्था गरिएको छ । उपविजेताले चार लाख पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता, गोलकिपर र प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको हरेक खेलमा ३ देखि ५ हजार दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ । 

प्रतियोगिता संचालनका लागि ८२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संचालनका लागि गण्डकी प्रदेश सरकारबाट १५ र गोरखा नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतियोगिता संचालनका लागि आवश्यक अन्य रकम संकलनको तयारी पनि थालेको तामाङले बताए । पृथ्वीनारायण गोल्डकपलाई आगामी वर्ष पनि निरन्तरता दिने उनले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully