पीडित परिवारद्वारा लमजुङ प्रहरीलाई ‘स्याबासी’

पूर्वप्रहरी हबल्दारको हत्या अभियोगमा प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै लमजुङमा औपचारिक कार्यक्रम गरी प्रहरीलाई धन्यवाद दिइएको हो ।

पुस १०, २०८२

आश गुरुङ

Victim's family 'compliments' Lamjung police

What you should know

लमजुङ — बेंसीसहर नगरपालिका–२, भकुण्डेमा भएको एक महिलाको हत्या प्रकरणमा सात महिनापछि अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै पीडित परिवार र स्थानीयले प्रहरी अनुसन्धान टोलीप्रति कृतज्ञता जनाएका छन् ।

अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै बिहीबार पीडित परिवार, बेंसीसहर नगरपालिका–२ का स्थानीय र जनप्रतिनिधिले औपचारिक कार्यक्रम गरी प्रहरीलाई धन्यवाद दिएका हुन् । 

पूर्वप्रहरी हबल्दार ४६ वर्षीया सीता कँडेलको हत्या अभियोगमा चितवन रत्ननगर नगरपालिका–७ का ४७ वर्षीय बुद्धिराम दराईलाई प्रहरीले पक्राउ गरेको हो । दराईलाई नेपाल फर्किने क्रममा मंसिर १८ मा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

एक्लै बस्दै आएकी कँडेलको शव गत चैत ३१ मा घरको लो–बेडभित्र त्रिपाल र प्लाइले ढाकिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको सूक्ष्म अध्ययन, प्रमाण संकलन तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिहीबार आयोजित कार्यक्रममा मृतककी आमा पार्वती धिताल खत्री, दाइ भगवान भन्ने शुक्र धिताल, जाहेरवाला दाइ परशुराम धिताल, अन्य आफन्त, वडाध्यक्ष मदनबहादुर राना, स्थानीयवासी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीलगायतको उपस्थिति थियो । उनीहरूले अनुसन्धानमा संलग्न डीएसपी रेशम बोहरा र प्रहरी निरीक्षक अभिषेक पाण्डेसहितको टोलीलाई फूलमाला र खादा लगाइदिएर स्याबासी दिएका थिए ।

वडाध्यक्ष रानाले प्रहरीको निरन्तर प्रयास र लगनशीलताका कारण अभियुक्त पक्राउ पर्नु न्यायको पक्षमा सकारात्मक सन्देश भएको बताए । ‘अपराधी जहाँ गए पनि कानुनको दायरामा ल्याइन्छ भन्ने विश्वास बलियो बनेको छ,’ उनले भने । डीएसपी बोहराले समुदायको सहयोग, धैर्यता र प्रहरीप्रतिको विश्वासकै कारण जटिल अनुसन्धान सफल भएको बताए ।

प्रहरीका अनुसार दराई चैत २७ मा कँडेलको हत्या गरी भारततर्फ फरार भएका थिए । उनी नयाँ दिल्लीमा सुरक्षा गार्डका रूपमा लुकिछिपी बस्दै आएको खुलेको छ । दराईविरुद्ध लमजुङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त दराई यसअघि पनि २०६७ मंसिर १२ गते गोरखाको साविक फिनाम गाविस–५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या प्रकरणमा दोषी ठहर भई जिल्ला अदालत गोरखाबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका व्यक्ति हुन् । सर्वोच्च अदालतले २०७१ चैत १३ गते सजाय घटाएर १२ वर्ष कैद मात्र तोकेपछि उनी २०७६ असोज ३ गते धादिङ कारागारबाट रिहा भएका थिए ।

२०७१ तिर चितवन कारागारमा रहँदा कँडेल र दराईबीच चिनजान भएको र जेलबाट छुटेपछि पनि उनीहरूबीच सम्पर्क तथा आवतजावत रहेको खुलेको छ । पछिल्लो समय आपसी विवाद बढेपछि अभियुक्तले पूर्वनियोजित रूपमा हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पाहुना घरमा बस्दा मौका नमिलेपछि दराई चितवन फर्किएको र कँडेल एक्लै भएको जानकारी पाएपछि पुनः लमजुङ आएर हत्या गरी शव लुकाएर फरार भएको प्रहरीको भनाइ छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully