पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक 'अफसिजन'का कारण हवाई सेवा स्थगित गरिएको हो ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Pokhara-Jomsom air service suspended for three months

मुस्ताङ — हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।

नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए । नियमित हवाई सेवा स्थगित भए पनि चार्टर र आपतकालीन हेली सेवा नरोकिने उनले बताए ।

तारा एयरलाइन्स मुस्ताङका स्टेसन इन्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च १ सम्म पोखरा-जोमसोम उडान स्थगित गरेको बताए । समिट एयरलाइन्स कम्पनीले पनि नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ । 

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा-जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully